• २८ माघ २०८२, बुधबार

ईशानेश्वरमा महाशिवरात्रि मेलाको तयारी तीव्र

blog

लमजुङको मध्यनेपाल–७, करापुटारस्थित ईशानेश्वर महादेव मन्दिर । तस्बिर : नवीनराज कुइँकेल

लमजुङ समाचारदाता

लमजुङ, माघ २८ गते । लमजुङको मध्यनेपाल–७, करापुटारस्थित ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्रि मेलाको तयारी तीव्र भएको छ । महाशिवरात्रि पर्वका अवसरमा लाखौँ दर्शनार्थीको भिड लाग्ने ईशानेश्वर महादेव मन्दिरमा मेला व्यवस्थापनका लागि तयारी भएको हो ।

महाशिवरात्रि मेलालाई व्यवस्थित बनाउन ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिले एक महिनाअघिदेखि नै तयारी सुरु गरेको हो । आगामी फागुन ३ गते हुने विशेष मेलाका लागि आवश्यक संरचना एवं अन्य व्यवस्थापन तयारी गरिएको ईशानेश्वर मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष गुणराज घिमिरेले जानकारी दिनुभयो । साबिकका वर्ष झैँ यस वर्ष पनि देश विदेशबाट आउने दर्शनार्थी एवं भक्तजनलाई सहज पूजाको व्यवस्थापन तथा अन्य कार्यका लागि विभिन्न ३६ वटा उपसमिति गठन गरिएको छ । महाशिवरात्रिका बेला ईशानेश्वर महादेव मन्दिरमा काठमाडौँको पशुपतिनाथपछिको धेरै भक्तजनको घुइँचो लाग्ने पवित्र तीर्थस्थल मानिन्छ । साबिकका वर्ष झैँ यस वर्ष पनि महाशिवरात्रिका अवसरमा श्रीमद्भागवत सप्ताह लगाइने भएको छ । अध्यक्ष घिमिरेले आगामी माघ २९ गतेदेखि सप्ताह सुरु हुने र शिवरात्रिको भोलिपल्ट फागुन ४ गते समापन हुने जानकारी दिनुभयो ।

मन्दिरमा शिवरात्रिको अघिल्लो मध्यराति मन्दिरमा विशेष पूजा गरेपछि बिहानैदेखि शिवमन्दिरमा दुध चढाउनेको भिड लाग्ने गर्दछ । अरू दिन मन्दिरभित्र प्रवेश गर्न नपाइने भए पनि शिवरात्रिको दिन भने दर्शनार्थीले मन्दिरभित्र प्रवेश गरेर आफैँले शिवलिङ्गमा दुध चढाउने र पूजा गर्ने गर्छन् । ईशानेश्वर महादेवलाई सन्तानेश्वर महादेवका रूपमा पुज्ने चलन छ । ईशानेश्वर महादेवको दर्शन गरी पूजाअर्चना गरेमा सन्तान नहुनेलाई सन्तान प्राप्त हुने जनविश्वास छ । महाशिवरात्रिको अवसर पारेर लामो समयअघिदेखि सन्तान नभएका सयौँ दम्पती मन्दिरपरिसरमा रातभर जाग्राम रही ठाडो बत्ती बाल्ने गर्छन् । रातभर जाग्राम भई ठाडो बत्ती बालेमा सन्तान लाभ हुने भएकाले बत्ती बाल्नका लागि काठमाडौँ, कास्की, चितवन, तनहुँ, गोरखा, पर्वत, स्याङ्जा, नवलपरासीदेखिका भक्तजन लमजुङको करापुटार आउने गर्छन् ।

सोबाहेक महाशिवरात्रिकै अवसरमा सामूहिक व्रतबन्ध, प्रसादका लागि भण्डारा र मनोरञ्जनका लागि रमाइलो मेलासमेत हुने समितिले जनाएको छ । त्यससँगै महाशिवरात्रिकै अवसरमा भलिबल प्रतियोगिता, ठाडो भाका एवं भजनकीर्तन हुने गरी व्यवस्थापन गरिएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो  । श्रीस्वस्थानी व्रतकथामा पनि हालको ईशानेश्वर महादेव मन्दिरमा सतीदेवीको दायाँ तिघ्रा पतन भएको वर्णन गरिएको छ । त्यस पुण्य भूमिमा तारकेश्वर महादेव उत्पन्न भई, ईशानकोणमा अवस्थित रहेकाले सो तारकेश्वर महादेवलाई ईशानेश्वर स्वरूप भनी ईशानेश्वर महादेव नामकरण गरिएको किंवदन्ती छ ।