काठमाडौँ, माघ २७ गते । फेब्रुअरी १३ तारिख देखि थाइल्यान्डमा सुरु हुने राइजिङ स्टार्स महिला एसिया कप प्रतियोगिताका लागि नेपाली टोलीको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबार खेलाडीको बिदाइ गरेको हो । प्रतियोगितामा नेपालले पूजा महतोको कप्तानीमा प्रतिस्पर्धा गर्नेछ । क्यानले नियमित कप्तान इन्दु बर्मा घाइते भएपछि उपकप्तान पूजा महतोलाई टोलीको कप्तानको जिम्मेवारी दिइएको छ ।
आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट खेलको क्रममा घाइते हुनुभएकी इन्दु आठ महिना मैदान बाहिर रहनुहुने छ । टोलीमा पूजासहित विन्दु रावल, सम्झना खड्का, रुवि पाद्दोर, रुविना क्षेत्री, कविता जोशी, कविता कुँवर, सीता रानामगर, रिया शर्मा, सुमन विष्ट, अनु कठायत, मनिषा उपाध्याय, काजल श्रेष्ठ र सीमना केसी हुनुहुन्छ ।
राइजिङ स्टार्स एसियन कपको समूह ‘ए’ मा रहेको नेपालले पाकिस्तान र भारतको ‘ए’ टिम तथा युएईसँग प्रतिस्पर्धा गर्ने छ । समूह ‘बी’ मा बङ्गलादेश ‘ए’, श्रीलंका ‘ए’, मलेसिया र थाइल्यान्ड रहेको छ ।