• २१ फागुन २०८२, बिहिबार

मध्यपूर्व युद्धले रूस-युक्रेन वार्ता रोकियो : जेलेन्स्की

blog

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की ।

किएभ, फागुन २१ गते । मध्यपूर्वमा चर्किएको इरान सम्बन्धी युद्धका कारण संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रूस र युक्रेनबिच यस साता हुने भनिएको नयाँ चरणको वार्ता स्थगित भएको युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बताउनुभएको छ । 

अन्तर्राष्ट्रिय ध्यान अहिले मध्यपूर्वतर्फ केन्द्रित भइरहेका बेला किएभले भने इरानी ड्रोनको सामना गर्ने आफ्नो अनुभवबारे विभिन्न देशबाट सहयोगको प्रस्ताव प्राप्त गरिरहेको जनाएको छ । जेलेन्स्कीका अनुसार संयुक्त राज्य अमेरिका र मध्यपूर्वका केही सहयोगी राष्ट्रले इरानद्वारा प्रयोग भइरहेका साहेद ड्रोनविरुद्ध प्रतिरक्षा उपायबारे युक्रेनसँग सहयोग खोजिरहेका छन् । 

रूसले चार वर्षअघि युक्रेनमाथि आक्रमण सुरु गरेपछि हजारौँ साहेद ड्रोन प्रयोग गरिसकेको अनुभव युक्रेनसँग रहेको उहाँले बताउनुभयो । पछिल्लो समयमा इरानले पनि इरानी लक्ष्यमा भएका संयुक्त अमेरिकी–इजरायली आक्रमणको जवाफ त्यही प्रकारका ड्रोनमार्फत दिएको उल्लेख गरिएको छ ।

छैटौँ दिनमा प्रवेश गरेको इरान सम्बन्धी युद्धले दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा ठूलो सङ्घर्ष मानिएको रूस-युक्रेन युद्धबाट अन्तर्राष्ट्रिय ध्यान केही हदसम्म मोडिएको छ । पश्चिमी सरकार र विश्लेषकका अनुसार रूस–युक्रेन युद्धमा लाखौँ मानिसको ज्यान गइसकेको छ, तर एक वर्षदेखि जारी अमेरिकी नेतृत्वको शान्ति प्रयासले लडाइँ चाँडै अन्त्य हुने सङ्केत भने अझै दिएको छैन ।

जेलेन्स्कीले बुधबार राति सम्बोधन गर्दै इरान वरपरको सुरक्षा अवस्थाका कारण तीनपक्षीय कूटनीतिक बैठकका लागि आवश्यक वातावरण अझै नबनेको बताउनुभयो । “अहिले इरानसँग सम्बन्धित अवस्थाका कारण त्रिपक्षीय बैठकका लागि आवश्यक सङ्केत प्राप्त भएका छैनन्”, उहाँले भन्नुभयो, “तर सुरक्षा अवस्था र समग्र राजनीतिक सन्दर्भ अनुकूल हुने बित्तिकै त्यो कूटनीतिक प्रक्रिया पुनः सुरु गरिने छ ।”

उहाँका अनुसार इरानी ड्रोनविरुद्ध प्रतिरक्षा उपायबारे सहयोगका लागि विभिन्न देशले युक्रेनसँग सम्पर्क गरिरहेका छन् । हालैका दिनमा उहाँले संयुक्त अरब इमिरेट्स, कतार, बहराइन, जोर्डन र कुवेतका नेताहरूसँग सम्भावित सहकार्यबारे छलफल गर्नु भएको छ । तर उहाँले युक्रेनले यस्तो सहयोग आफ्नो सुरक्षा कमजोर नपर्ने अवस्थामा मात्र उपलब्ध गराउने स्पष्ट पार्नुभयो । साथै यस्तो सहकार्यले रूसी आक्रमण रोक्ने किएभको कूटनीतिक प्रयासलाई सहयोग पुर्याउनु पर्ने शर्त पनि उहाँले राख्नुभयो । 

“हामीलाई, युक्रेनलाई, युद्धको उचित अन्त्य गर्न सहयोग गर्नेहरूलाई हामी पनि युद्धबाट जोगिन मद्दत गर्न तयार छौँ”, जेलेन्स्कीले भन्नुभयो । यसैबिच, युद्धको अध्ययन संस्थानका अनुसार युक्रेनी सेनाले करिब एक हजार २५० किलोमिटर लामो मोर्चामा केही स्थानमा रूसी सेनालाई पछाडि धकेल्न सफल भएको छ । वासिङ्टनस्थित उक्त थिङ्क ट्याङ्कका अनुसार फेब्रुअरीको अन्तिम दुई सातामा युक्रेनी सेनाले स्थानीय स्तरका प्रतिआक्रमणमार्फत गुमाएको भन्दा बढी भूभाग पुनः नियन्त्रणमा लिएको छ । संस्थानले जनवरी १ यता युक्रेनले करिब २५७ वर्गकिलोमिटर (१०० वर्गमाइल) क्षेत्र पुनः आफ्नो नियन्त्रणमा ल्याएको अनुमान गरेको छ । रासस/एपी