एकिन्द्र तिमिल्सेना
टीकापुर, फागुन २१ गते । कैलाली क्षेत्र नम्बर १ मा ५० दशमलव ५५ प्रतिशत मत खसेको छ । निर्वाचन अधिकृत देवराज भारतीका अनुसार यस क्षेत्रमा ५४ हजार ८४४ मत खसेको हो ।
यस निर्वाचन क्षेत्रमा २३ वटा वडाका एक लाख आठ हजार ४९१ मतदाता छन् । अधिकृत भारतीका अनुसार २३ वटै वडाका सबै मतदान केन्द्रमा गाडी पुगिसकेको र राति ८ः०० बजेसम्म मतपेटिका सङ्कलन भइसक्ने बताउनुभयो ।
मतपेटिका सङ्कलन भइसकेपछि सर्वदलीय बैठक गरी मतगणना सुरु गरिनेछ । मतगणनाका लागि टीकापुरस्थित सीटी हलमा बत्ती, माइक, तारजाली, सीसी क्यामेरा लगायतको व्यवस्था भैसकेको भारतीले बताउनुभयो ।
यस क्षेत्रमा नेकपा (एमाले) बाट द्वारिकाप्रसाद न्यौपाने, नेपाली काँग्रेसबाट जनकराज चौधरी, नेपाली कम्युनिस्ट पार्टीबाट रामलाल डगौरा थारु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कोमल ज्ञवाली, राप्रपाबाट लोकेन्द्र कुँवर लगायतका १५ जना उम्मेदवार हुनुहुन्छ ।
टीकापुर–१ मा ४६ दशमलव ४३ प्रतिशत मत खस्यो
मतदाताको हिसावले नेपालमा सबैभन्दा बढी मतदाता भएको टीकापुर नगरपालिका –१ मा ४६ दशमलव ४३ प्रतिशत मत खसेको छ । २२ हजार ९०९ मतदाता रहेको यस वडामा दश हजार ६३८ मत खसेको हो ।
तीनवटा मतदानस्थल भएको यस वडाका खड्ग स्मृति माविमा चार हजार २३१ मत, वीरेन्द्र विद्या मन्दिर मावि केन्द्रमा तीन हजार ६३७ र टीकापुर बुहुमखी क्याम्पस केन्द्रमा दुई हजार २ हजार ७७० मत खसेको छ ।
अघिल्ला निर्वाचनको तुलनामा कम मत खसे पनि यस वडाको मतलाई यहाँको निर्वाचनमा निर्णायक मान्ने गरिएको छ । निर्वाचन आयोगको विवरणअनुसार टीकापुर नगरपालिका –१ पछि २० हजार ८४७ मतदाता रहेका छन् ।