• २१ फागुन २०८२, बिहिबार

दुर्गमका मतपेटिका हेलिकप्टरबाट सङ्कलन गरिँदै

blog

फाइल तस्बिर

काठमाडौँ, फागुन २१ गते । नेपाली सेनाले अन्य सुरक्षा निकाय, स्थानीय प्रशासन, आमनागरिकसँगको सहयोग र समन्वयमा प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षित रुपमा सम्पन्न भएको जनाएको छ।

निर्वाचन सम्पन्न भएपछि रासससँग कुरा गर्दै नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसारका तयारीले निर्वाचनलाई सुरक्षित रुपमा सम्पन्न गर्न सहयोग पुगेको बताउनुभयो । 

“निर्वाचन सुरक्षाका लागि धनगढी, सुर्खेत, बुटवल, पोखरा, काठमाडौँ, हेटौँडा, बर्दिवास, इटहरी र विराटनगरमा १६ वटा जहाज तयारी अवस्थामा राखिएको थियो”, सैनिक प्रवक्ता बस्नेतले भन्नुभयो । आमनागरिकको सूचना र अन्य सुरक्षा निकायको सहयोगमा निर्वाचनलाई लक्षित गरी भएका शङ्कास्पद गतिविधिलाई समयमै सुरक्षित तवरमा निस्तेज तुल्याइएको उहाँको भनाइ छ ।

निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले गत माघ २१ गतेदेखि निर्वाचनका लागि सेना परिचालित भएको थियो । निर्वाचन अवधिमा शङ्कास्पद वस्तु तथा विस्फोटक पदार्थलगायत ७१ वटा फेला परेका थिए । ती विस्फोटक पदार्थ प्रतिकार्यका लागि ८१६ वटा टोली परिचालित भएको थियो ।

निर्वाचनपूर्व र मतदानका दिन सुरक्षाका लागि तैनाथ गरिएको हेलिकोप्टर अब मतपेटिका ओर्सान प्रयोग गरिनेछ । निर्वाचन आयोगको योजनाका आधारमा दुर्गम क्षेत्रका मतदान केन्द्रबाट ती मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हेलिकोप्टरमार्फत ल्याउने तयारी गरिएको छ । रासस