• २१ फागुन २०८२, बिहिबार

बैतडीमा ७३ हजार १४८ मत खस्यो, मतगणना भोलि

blog

केशब राज भट्ट

वाशुलिङ बैतडी, फागुन २१ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा मतदान शान्तिपूर्ण तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

निर्वाचन आयोगले तोकेको समय अनुसार बिहान ७ः०० बजेदेखि सुरु भएको मतदान साँझ ५ः०० बजे सम्पन्न भएको हो । जिल्लामा हालसम्म ७१ हजार १४८ मत खसेको प्रारम्भिक तथ्यांक प्राप्त भएको छ । जसमध्ये ४० हजार ५७२ महिला, ३२ हजार ५७५ पुरुष र एक जना अन्य मतदाता रहेका छन् ।

जिल्लाका दुई सय १५ वटै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गरी सदरमुकाम ल्याउने कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आज रातिसम्म सबै मतपेटिका सदरमुकाममा ल्याइसक्ने योजना रहेको छ ।

सबै मतपेटिका सङ्कलन भएपछि सर्वदलीय बैठक बसेर त्यसपछि मात्रै मतगणना कार्य सुरु गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी थापाका अनुसार भोलि बिहान सर्वदलीय बैठक बसेपछि मतगणना सुरु गरिनेछ ।

मतगणनाका लागि जिल्ला अदालतको भवनलाई मत गणनास्थल तोकिएको उहाँले बताउनुभयो । अन्तिम तथ्यांक सङ्कलन भइरहेकाले मतसंख्या अझै थपिन सक्ने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा यस पटक १० जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । जिल्लामा कुल १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन् ।