शंकर केसी
सल्यान, फागुन २१ गते । एकमात्र सङ्घीय निर्वाचन क्षेत्र रहेको सल्यानमा विहिबार भएको मतदानमा ४८.१४ प्रतिशतले मतदान गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक लाख ६२ हजार ४४९ मतदाता मध्ये प्रारम्भिक विवरण अनुसार ७८ हजार २१० जनाले मात्रै मताधिकार प्रयोग गरेका छन् । गत प्रतिनिधि सभा निर्वाचन २०७९ मा सल्यानमा जम्मा एक लाख ५७ हजार ७०१ मतदाता रहेका थिए । तीमध्ये प्रत्येक्ष तर्फ ८३ हजार ७४ मत खसेको थियो ।
यसपटक कुल ११७ मतदान स्थलका २०५ स्थायी मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत प्रह्लादकुमार योगीले जनाउनुभयो ।
मतदान कार्यसँगै जिल्लामा मतगणनाको तयारी पनि पूरा गरिएको छ । सदरमुकाम खलङ्गास्थित जिल्ला समन्वय समितिको ठूलो हललाई मतगणनास्थल तोकिएको छ । मतपेटिका सङ्कलन गरेर चुस्त दुरुस्त सुरक्षा प्रवन्धका साथ यहीँ राखिने प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटाले बताउनुभयो ।
मतगणना हुने हल परिसरमा ६ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ । समन्वय हल नजिकै मालपोत कार्यालय प्रवेश गर्ने बाटो र जिल्ला समन्वय कार्यालय प्रवेश गर्ने स्थानमा क्यामेरा राखिएको छ भने हलका दुवै ढोकाबाहिर र हलभित्रको सम्पूर्ण क्षेत्र देखिने गरी दुईवटा क्यामेरा जडान गरिएको छ ।
मतगणनास्थल वरिपरि करिब १० फिट अग्लो तारजालीको सुरक्षा घेरा तयार गरिएको छ । मतगणना सिफ्ट प्रणालीमा सञ्चालन गरिनेछ । प्रत्येक सिफ्टमा मुख्य गणना अधिकारीसहित ६ जना जनशक्ति खटिनेछन् । मुख्य गणना अधिकारीका रूपमा मुख्य निर्वाचन अधिकृत रहने व्यवस्था गरिएको छ भने एक जना गणना अधिकारी, दुई जना गणक, एक जना कम्प्युटर अपरेटर र एक जना सहयोगी रहनेछन् ।
मतगणना निर्देशिका तथा निर्वाचन आयोगबाट प्राप्त २९ बुँदे मार्गदर्शनका आधारमा मतगणना गरिने कार्यालयले जनाएको छ । मतपेटिका मतगणना स्थलमा आइपुग्न राति अबेर हुनसक्ने भएकाले शुक्रबार बिहान सर्वदलीय तथा सर्वपक्षीय बैठकपछि मात्र मतगणना सुरु गरिने तयारी छ ।
१४ उम्मेदवार प्रतिस्पर्धामा
जिल्लामा प्रतिनिधिसभा सदस्य पदका लागि १४ जना उम्मेदवार चुनावी मैदानमा छन् । राजनीतिक दलका १२ जना र दुई जना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेसबाट केशबहादुर बिष्ट, नेकपा एमालेबाट गुलाबजंग शाह, नेकपा माओवादी केन्द्रबाट चन्द्रबहादुर खडका, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितकुमार चन्द, नेपाली कम्युनिष्ट पार्टीबाट रमेश मल्ल उम्मेदवार हुनुहुन्छ ।
यसैगरी नेपाल मजदुर किसान पार्टीका लालबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीकी अनिसा नेपाली, नेशनल रिपब्लिकन नेपालका डिल्लीबहादुर घर्ती, संयुक्त नागरिक पार्टीका कालीदाश विक, जनमोर्चाकी कमला डाँगी, मंगोल नेसनल अर्गनाइजेसनका बालसिंह घर्ती तथा श्रम संस्कृति पार्टीका धनबहादुर बुढा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । स्वतन्त्रतर्फ ध्रुवराज ओली र जुद्धकुमार सिंह उम्मेदवार हुनुहुन्छ ।