काठमाडाैँ, माघ २७ गते । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले विद्यालय केन्द्रित एचपिभी खोप व्यवस्थित रूपमा अघि बढाउन मातहतका सबै पक्षलाई निर्देशन दिनुभएको छ ।
मङ्गलबार काठमाडौँको डिल्लीबजारस्थित पद्मकन्या माविमा सो खोपको उद्घाटन गर्दै उहाँले महानगरपालिका अन्तर्गतको स्वास्थ्य विभाग र सम्बन्धित सबै पक्षलाई सो अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न सचेत गराउनुभएको हो ।
सरकारले पाठेघरको मुखको क्यान्सर प्रतिरोधी सो खोप निःशुल्क रूपमा उपलब्ध गराएको छ । सो खोप लिन र त्यसलाई व्यवस्थित रूपमा सम्पन्न गर्न कार्यवाहक प्रमुख डङ्गोलको आग्रह थियो । उहाँले सो खोप अभियान काठमाडाैँ महानगरपालिकाभित्रका सबै विद्यालयहरूमा सञ्चालन भइरहेकाले त्यसबाट लाभ लिन पनि किशोरीहरूलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, "अघिल्लो वर्षबाट हामीले यो सुरु गरेका थियौं । या भनौं–पहिलो चाहीँ यो भ्याक्सिन लिनका लागि पैसा तिरेर यो भ्याक्सिन लिई रहनुभएको थियो भने अहिले निःशुल्क यो भ्याक्सिनेसन प्रोग्राम स्कुलस्कुलमा भइरहेको छ । यो प्रोग्रामबाट धेरै भन्दा धेरै बहिनीहरूले यसबाट लाभ लिनुहोस भन्ने पनि चाहन्छौँ । र यो कार्यक्रम महानगरभरिको सबै विद्यालयहरूमा लागु भइरहेको छ । त्यहाँ पनि सफलतापूर्वक सम्पन्न होस भन्ने कामना गर्दछु । र, यो प्रोग्रामलाई व्यवस्थित रूपमा अघि बढाई दिन पनि अनुरोध गर्दछु ।"
सरकारले पाठेघरको मुखको क्यान्सरबाट धेरैको ज्यान जान थालेपछि त्यसको प्रतिरोधका लागि यो भ्याक्सिन निःशुल्क रूपमा उपलब्ध गराउने कामलाई अभियानकै रूपमा सञ्चालन गरेको हो । सो अभियानबाट लाभ लिन पनि काठमाडौँ महानगरपालिकाले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।