• २७ माघ २०८२, मङ्गलबार

नेपाली राजनीतिको गन्तव्य

blog

गत भदौ २३ र २४ को जेनजी विद्रोहले नेपालका राजनीतिक दलहरू सकारात्मक गन्तव्यतर्फ लम्कन थालेको देखिन्छ । आगामी फागुन २१ गतेको निर्वाचनमा अधिकांश दलले एक्लाएक्लै चुनावमा जाने आँट गरेका छन् । मौसमले साथ दिनु पर्‍यो । सरकारले शान्तिसुरक्षाको वातावरण मिलाउनु पर्‍यो । हालसम्म यी सहज वातावरण तयार भइसकेका छन् । निर्वाचनको काम अगाडि बढिरहेको छ । 

के नेताहरू सच्चिए त ? आउँदा दिनमा उनीहरूद्वारा सम्पादन गर्ने कार्यले देखाउने छ । साथै नेपालको संविधान २०७२ माथि पुनर्विचार गर्ने कि नगर्ने ? कति प्रतिशत यो दस्ताबेज पनि जिम्मेवार बन्ला कि ? छुट्याएर हेर्नु पर्छ होला । नेतालाई मात्र दोष दिनु न्यायसङ्गत हुने छैन । त्यसैले फागुन २१ को निर्वाचनपछि सुझबुझ, बुद्धि, विवेक प्रयोग गरी राष्ट्रिय सहमतिका साथ १० वर्षको अनुभवबाट नेपालको संविधानभित्र रहेका कमीकमजोरी र सबल पक्षलाई सुदृढ रूपमा छाँटकाँट गर्नु पर्छ । 

जेनजी विद्रोहपछि केही एकाध राजनीतिक दलबाहेक धेरैले वर्तमान वैश्विक परिस्थिति, सूचना प्रविधि र समयसापेक्ष अगाडि बढ्न थालेका छन् । सुशासन र त्यसभित्रका अत्यावश्यक तत्व विधिको शासन, पारदर्शिता, भ्रष्टाचार निवारण, जवाफदेहिता, शक्ति पृथकीकरण, सार्वजनिक जवाफदेहिता, छिटोछरितो र प्रभावकारी सेवा प्रवाहमाथि सोच्न थालेका छन् । योसँगै दलका नेतृत्व तह नेपालको मौलिक पहिचानको राजनीति र छिमेकी एवं मित्र राष्ट्रसँगको वैदेशिक मामलामा सहभागी हुनु अपरिहार्य छ । 

झन्डै एक शताब्दीदेखि आधुनिक राज्यव्यवस्थाको खोजीमा नेपालीले सात/आठ दशक ठुलो जनधनको क्षतिका साथ धेरै प्रयास/सङ्घर्ष र बलिदान गरे तर अझै सही मार्ग पत्ता लगाउन सकिएको छैन, निष्कर्षमा पुग्न सकिएको छैन । छिमेकी मुलुकले यही कालखण्डमा के कति विकास गरे ? ती कहाँ छन् ? हामी कहाँ छौँ ? अबका केही दशकभित्र उनीहरू विश्वका प्रथम, द्वितीय, तृतीय दर्जाका आर्थिक आर्जनको स्तरमा पुग्दै छन् । हामी अझै धेरै अलमलमा छौँ । अबको निकास नवयुवा र प्रविधिमैत्री वैश्विक क्रान्तिले रूपान्तरण गर्ने पहल हो । त्यसैले गत भदौ २३ र २४ को जेनजी विद्रोह र फागुन २१ को विशेष निर्वाचनको परिणाम एउटा कोसेढुङ्गाका रूपमा प्रमाणित हुने छ । 

भूराजनीतिक र वैश्विक प्रभावबाट नेपाल अलग र अछुत रहन सक्दैन । नेपाली युवाशक्ति विदेश पलायनको क्रम रोकिने वातावरणको सुनिश्चित युवाकै काँधमा छ । भावी नेतृत्व उनीहरूले नै लिनु पर्छ । भ्रष्टाचार न्यूनीकरण र सुशासनसहितको राज्यव्यवस्थाको विकल्प छैन । नेपाल र नेपालीबिनाको पहिचान अर्को कुनै छैन । विकासनिर्माणको नेतृत्व नेपालीले नै सम्पादन गर्ने हो । नेपालको समृद्धि र सम्पन्नता नेपालीकै हातमा छ । नेपालमा अपार सम्भावना नै सम्भावना छन् । दलहरू त माध्यम मात्रै हुन् । साध्य त नेपालीको रूपान्तरण, समृद्धि र सम्पन्न नेपाल हो । यस महान् यज्ञमा भावी निर्वाचन सम्पन्न गरेपछि आआफ्नो क्षमता र जनाधार एवं हैसियत पत्ता लाग्ने छ र सबै दलका नेतृत्वले आफूलाई चिन्ने मौका प्राप्त हुने छ । एउटा सर्वमान्य, सर्वपहिचान र नेपाली विविधताको स्वरूप झल्काउने, अनेकतामा एकता दक्षिण एसियामा मात्रै होइन, विश्वमै चिनाउने, गौतम बुद्धको जन्मथलो, विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको छ । स्वदेश निर्माणदेखि आफ्नो भविष्य निर्माण गर्नुका साथै विश्व मानचित्रमा नेपाल चिनाउने र नेपालीको सहभागिता सुनिश्चित गर्ने साझा दायित्व सुरुवात हुने छ । यो देश विश्वका हिन्दु र बौद्ध धर्मालम्बीको पनि गन्तव्यका रूपमा चिनिने छ ।

१९ औँ, २० औँ शताब्दीमा नेपाल, भारत र चीन विकासको एउटै लहरमा थिए तर अहिले फरक किन ? किनभने उनीहरूको राजनीतिक मुद्दा छैनन्, विकासनिर्माणमा केन्द्रित छन् । हामीले पनि राजनीतिक सवाल तखातामा थन्काइसकेका हौँ तर पनि सुशासन र भ्रष्टाचार, अस्थिर सरकार, गैरदलीय चरित्र र व्यवहार, अपरिपक्वता किन ? खोजी गर्नु छ । यसको खोजी हाम्रो सविंधान र त्यसभित्रका पात्रको चरित्र र व्यवहार एवं निर्वाचन (प्रतिनिधित्व) प्रणाली भित्र पनि गर्नु पर्छ । हामी आफैँले अङ्गीकार गरेको पोसाक वा बोलीचाली र व्यवहार उपयुक्त पो भएन कि ? गाडी वा चालक को बेठिक ? वा दुवै ? अब बारबार जनताको घरदैलोमा जाने होइन, आफ्नै आत्माभित्रको स्वभाव र आचरण तथा आफैँले सिर्जना गरेका (खराब) वातावरणको फोहोरलाई पनि पखाल्नु पर्छ । 

नयाँ नेतृत्वले तलमाथि र पर (केन्द्र, स्वदेश र विदेश) तर्फ होइन, घरगाउँ र नेपाली र नेपालभित्रै खोजौँ । आफ्नो भूमिकामा पो चुक्यौँ कि ? चुनाव जित्नु ठुलो कुरा होइन, सेवा गर्नु ठुलो कर्म र धर्म हो । कर्मबिनाको फल भ्रष्टाचार, अनैतिक, पदीय दुरुपयोग हो । आफ्नो क्षमता देखाउने सच्चा जनप्रतिनिधिले त्यही पदमा रहिरहन खोज्नु भ्रष्टाचार र अन्य स्वार्थकेन्द्रित हुनु हो । त्यो लोकतान्त्रिक पद्धति होइन । त्यसैले जनताको सेवाका लागि दुई कार्यकाल ठुलो र लामो समय हो । बेलायत अमेरिकालाई हेरौँ । 

गठबन्धनको बैसाखीमा चुनाव जित्नु सत्तामा बारम्बार बस्न इच्छा राख्नु र बस्नु अनैतिकता हो । निर्वाचनमा हारेको व्यक्ति सदनमा प्रवेश गर्नु त घोर जनअपमान हो । आफ्नो पार्टीको घोषणा बाहिर अरूका लागि आफ्नो अस्तित्व मेटाउनु (गठबन्धन) विशुद्ध दुई नम्बरी अर्थात् जनविरोधी कार्य हो । दलहरूले बारम्बार चुनावी घोषणा फेरि रहनु पनि उचित होइन । विगतका अधुरा कार्य (वाचा) पूरा गर्नु, निरन्तरता दिनु स्वाभाविक हो तर कुनै पनि दलको राजनीति देश र जनताका लागि छुट्टाछुट्टै लक्ष्य हुँदैन, लक्ष्य त एउटै हुन्छ, माध्यम र उक्त लक्ष्य एवं उद्देश्य प्राप्त गर्ने माध्यम फरक फरक हुन सक्छन् । हरेक दलको लक्ष्य एउटै, त्यस लक्ष्यमा पुग्ने र प्राप्त गर्ने उद्देश्य आआफ्नै किटान हुन्छन् । उद्देश्य, रणनीति, नीति, कार्यक्रम र योजना, परियोजना आआफ्नै हुन्छन् तर नेपालमा अधिकांश दलमा यो इतिहास, संस्कृति र उद्देश्य नभएका, लक्ष्यविहीन समूह (जमात) मात्र भेटिन्छन् । सिद्धान्तविहीन, एजेन्डाविहीन, अरूको विरोधका लागि विरोध गर्ने मात्रै भेटिन्छन् । यो प्रचलन गलत हो र राजनीति परिपक्वता नभएको अवस्था हो । प्रत्येक निर्वाचनमा नयाँ नयाँ दल उत्पन्न हुनुको पछाडि यिनै कमीकमजोरी छन् । नेपालमा दलहरू संस्थागत रूपमा विकास भइसकेका छैनन् । विकसित मुलुकमा यस्तो प्रथा र इतिहास भेटिँदैन । चुनावी एजेन्डा नयाँ नयाँ तथा समय र समस्या सापेक्ष भेटिन्छन्, त्यो स्वाभाविक हो । गठबन्धनको आवश्यकता निर्वाचनपश्चात् सदनमा आवश्यक सङ्ख्याको बहुमत वा दुई तिहाइ पु¥याउँदा आवश्यक हुन सक्छ न कि कसैको विरुद्ध, निषेधको राजनीति, कसैप्रति प्रतिशोध र गैरराजनीति चरित्रबाट निर्देशित भएर हुनु स्वाभाविक मान्न सकिन्न ।

फागुन २१ को चुनावी नतिजाले कसैको पनि स्पष्ट बहुमत पुग्ने सम्भावना कम देखिन्छ । त्यसैले निर्वाचनपछिको सरकार गठबन्धनमा जाने आकलन गर्न सकिन्छ तर गठबन्धनको पनि उद्देश्य हुन्छ । त्यो कुनै उद्देश्य वा लक्ष्यप्राप्तिका लागि जस्तैः ‘साझा सरकार’ गठबन्धन भन्नुभन्दा ‘साझा सरकार’ साझा समस्या समाधानका लागि हुनु पर्छ । यसको तात्पर्य भ्रष्टाचार निर्मूल गर्नु हो । सुशासन स्थापित गर्नु हो । विकासलाई गति दिनु हो । युवा शक्ति स्वदेशमै टिकाउनु हो । रोजगारी सिर्जना गर्नु हो । सेवाग्राहीलाई छिटोछरितो प्रभावकारी सेवा प्रदान गर्नु हो । आजको प्राथमिक एजेन्डा यिनै हुन् । चुनावको नतिजापछि जनमतले रुचाएको अर्थात् बहुमतको सरकार बन्छ । उसको एजेन्डा लागु हुन्छ । बाँकी दल प्रतिपक्षमा बस्छन् । राष्ट्र र नेपालीको हितका साझा सवालमा एक हुन्छन् । सबैको हित राष्ट्र र नेपालीको जित प्राप्त गर्नु हो । यही पवित्र यज्ञमा हामी सबै जुटौँ, यो विशेष परिस्थितिको निर्वाचनलाई सफल पारौँ ।