विष्णुप्रसाद पोखरेल
दमक, माघ २७ गते । झापाको मेचीनगर नगरपालिकाको उत्तरी क्षेत्र बाहुनडाँगीमा बाघ देखापर्न थालेपछि स्थानीयहरू त्रसित भएका छन् । बाघले बाख्रा खान थालेपछि स्थानीयहरू त्रसित भएका छन् ।
झापाको हात्ती प्रभावित क्षेत्रमा बाघ देखिइएको हो । मेचीनगर नगरपालिका–४, बाहुनडाँगीका वीरबहादुर राईको खोरभित्र बाँधिराखेको बाख्रा बाघले आक्रमण गरेर मारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।
उहाँका अनुसार दुई वटा ब्याउने बाख्रा बाघले मार्दा करिब ४० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ । बाघको खोजी भए पनि पत्ता नलागेको बताइएको छ । यसभन्दाअघि चितुवा पनि यस क्षेत्रमा देखिँदै आएको स्थानीयले बताएका छन् ।
हात्तीबाट अति प्रभावित बाहुनडाँगीमा पछिल्लो समय चितुवा र बाघ पनि देखिन थालेपछि स्थानीयमा हिँडडुल गर्न भय सिर्जना हुने अवस्था आएकाले सचेत भएर हिँडडुल गर्न आग्रह गरिएको वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो ।