• २७ माघ २०८२, मङ्गलबार

खामेनीद्वारा एकताको आह्वान

blog

इस्लामिक क्रान्तिका नेता आयातोल्ला सैय्यद अली खामेनी।

तेहरान, माघ २७ गते । इस्लामिक क्रान्तिका नेता आयातोल्ला सैय्यद अली खामेनीले इस्लामिक क्रान्तिको वार्षिकोत्सवको अवसरमा इरानी राष्ट्रलाई एकता र दृढ सङ्कल्प प्रदर्शन गर्न आग्रह गर्नु भएको छ । यस्तो राष्ट्रिय स्थिरताले देशका शत्रुलाई निराश पार्ने उहाँको भनाइ रहेको इरानी राज्य प्रसारणकर्ता प्रेस टिभीले जनाएको छ ।

इस्लामिक क्रान्तिको ४७ औँ वार्षिकोत्सव मनाउन फेब्रुअरी ११ का लागि तय गरिएको र्याली अघि जारी गरिएको टेलिभिजन सन्देशमा आयातोल्ला खामेनीले यस अवसरलाई इरानको शक्ति, गरिमा र सामूहिक दृढताको प्रभावशाली प्रदर्शनको रूपमा चित्रण गर्नु भएको छ ।

“बहमान २२ (फेब्रुअरी ११) हरेक वर्ष इरानी राष्ट्रको शक्ति र मर्यादा उजागर हुने दिन हो”, उहाँले भन्नुभयो । उहाँले इरानी जनतालाई दृढ, लचिलो, प्रशंसनीय र आफ्नो परिस्थितिबारे पूर्ण रूपमा सचेत राष्ट्रको रूपमा वर्णन गर्नुभयो । उहाँले ११ फेब्रुअरी १९७९ मा इरानले ‘विदेशी हस्तक्षेप’बाट आफूलाई मुक्त गर्दै ‘ठूलो विजय’ हाँसिल गरेको स्मरण गराउनुभयो । 

तर त्यसयता बाह्य शक्तिले ती उपलब्धिलाई उल्ट्याउने प्रयास निरन्तर गरिरहेको उहाँको भनाइ छ । यस ऐतिहासिक पृष्ठभूमिमा जोड दिँदै आयातोल्ला खामेनीले ‘इरानी राष्ट्र दृढतापूर्वक उभिएको छ’ भनेर पुनः पुष्टि गर्नुभयो । “यस स्थिरताको प्रतीक बहमान २२ हो”, उहाँले भन्नुभयो । उहाँले वार्षिक वार्षिकोत्सव र्यालीलाई ‘अतुलनीय’ भन्दै अन्य कुनै पनि देशले हरेक वर्ष यति व्यापक र निरन्तर सार्वजनिक सहभागितासहित आफ्नो स्वतन्त्रता मनाउने उदाहरण नदेखिने बताउनुभयो ।

“यी र्यालीले ‘इरान र यसको हितमाथि लोभ राख्नेलाई पछि हट्न बाध्य पार्छन्”, उहाँले स्पष्ट पार्नुभयो । यसले बाह्य महत्त्वाकांक्षालाई रोक्ने महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ । राष्ट्रिय शक्तिको वास्तविक आधारबारे उल्लेख गर्दै आयातोल्ला खामेनीले ‘राष्ट्रिय शक्ति मिसाइल र विमानभन्दा पनि राष्ट्रको इच्छा र उनीहरूको दृढतासँग बढी सम्बन्धित हुन्छ’ भन्नुभयो । उहाँले नागरिकलाई जीवनका सबै क्षेत्रमा सङ्कल्प कायम राख्न आग्रह गर्नुभयो ।

“शत्रुलाई निराश पार्नुहोस्”, उहाँले भन्नुभयो । विरोधी निरुत्साहित नभएसम्म राष्ट्र जोखिममा रहन सक्ने उहाँको चेतावनी थियो । उहाँले एकता, बलियो इच्छाशक्ति, प्रेरणा र बाह्य दबाबको प्रतिरोधलाई इरानको राष्ट्रिय शक्तिलाई आधार दिने मुख्य स्तम्भका रूपमा पहिचान गर्नुभयो ।

आयातोल्ला खामेनीले देशका युवाले विज्ञान, नैतिक आचरण, भौतिक तथा आध्यात्मिक विकास दुवै क्षेत्रमा अग्रसर हुँदै जाने अपेक्षा व्यक्त गर्नुभयो । यसले राष्ट्रिय गौरव थप मजबुत बनाउने उहाँको विश्वास छ । फेब्रुअरी ११ का र्यालीले यी गुणको प्रतिबिम्ब प्रस्तुत गर्ने उहाँले बताउनुभयो । नागरिक एकता, इस्लामिक गणतन्त्रप्रति निष्ठा र राष्ट्रप्रतिको समर्पण देखाउन सडकमा उत्रिने अपेक्षा गरिएको छ । उहाँले यस वर्षको वार्षिकोत्सव कार्यक्रमले विगतका वर्षमा देखिएको ढाँचाअनुसार इरानको अन्तर्राष्ट्रिय र आन्तरिक स्थिति अझ सुदृढ बनाउने आशा पनि व्यक्त गर्नुभयो । रासस/एएनआई