• २७ माघ २०८२, मङ्गलबार

सुकुम्वासी समस्या समाधानमा प्राथमिकता

blog

श्रम संस्कृति पार्टीका नेताहरू ।

ज्ञानु पङ्गेनी

मध्यविन्दु, माघ २७ गते । सुकुम्वासी समस्या समाधान गर्नु नै श्रम संस्कृति पार्टीको मुख्य राजनीतिक एजेन्डा रहेको पार्टीका उम्मेदवारहरूले बताएका छन् ।

श्रम संस्कृति पार्टी नवलपुरले मङ्गलबार देवचुलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै क्षेत्र १ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिनुभएका भीमचन्द्र गुरुङले सुकुम्वासीको हातमा लालपूर्जा पुगोस् भन्ने उद्देश्यसाथ आफू चुनावी मैदानमा उत्रिएको स्पष्ट पार्नुभयो । 

आफू पनि सुकुम्वासीकै छोरा भएको उल्लेख गर्दै उहाँले सधैँ सुकुम्वासी समुदायको पक्षमा काम गर्दै आएको बताउनुभयो । विजयी भएमा सुकुम्वासीको हातमा लालपुर्जा नपुग्दासम्म संसद भवनको कुर्सीमा नबस्ने, भुइँमै बसेर सुकुम्वासीको हकअधिकारका लागि आवाज उठाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । उहाँले आफ्नो प्रतिबद्धता लिखित रूपमा हस्ताक्षर गरी सञ्चारकर्मीमार्फत सार्वजनिक गर्नुभयो । 

यसैगरी नवलपुर क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फका उम्मेदवार कमल चापागाईंले गाउँले जीवनमा आधारित नेपालमा कृषि र पर्यटन नै आर्थिक मेरुदण्ड भएको उल्लेख गर्नुभयो । यी क्षेत्रको विकास गर्दै आदिवासी जनजाति तथा थारु समुदायको कला, संस्कृति र पहिचान संरक्षणका लागि प्रभावकारी नीति निर्माण गर्ने लक्ष्यका साथ आफू उम्मेदवार बनेको उहाँको भनाइ छ ।

त्यस्तै क्षेत्र नं. १ की समानुपातिक उम्मेदवार अस्मिता गैरेले वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको अधिकार सुनिश्चित गर्नु नै पार्टीको प्रमुख प्राथमिकता रहेको बताउनुभयो । 

क्षेत्र नं. २ बाट समानुपातिक उम्मेदवार शान्तिदेवी पौडेलले पुस्तौँदेखि सुकुम्वासी भएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्दै सुकुम्वासीको हातमा जग्गाधनी प्रमाणपुर्जा दिनु आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभयो ।