• २६ माघ २०८२, सोमबार

विद्यालयको जग्गाबाट माटो बेच्ने अध्यक्ष र मतियारविरुद्ध मुद्दा

blog

गोरखापत्र अनलाइन

काठमाडौं, माघ २६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), सरावल गाउँपालिका–३ स्थित महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र एकजना बिचौलियाविरुद्ध आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेकाअनुसार विद्यालयको जग्गाबाट अवैधरूपमा माटो उत्खनन गरी भ्रष्टाचार गरेको आरोपमा आरोपपत्र दायर भएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण चौधरी र रामग्राम नगरपालिका–४ का दिनेश यादवको आपसी मिलेमतोमा विद्यालयको नाममा रहेको कित्ता नं. २९५ को जग्गाबाट अनुमतिभन्दा बढी माटो उत्खनन गरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको आयोगको ठहर छ।

आयोगका अनुसार, मिति २०८०।०९।१६ को बैठकको निर्णयानुसार जग्गा सम्याई खेतीयोग्य बनाउने जिम्मेवारी अध्यक्ष चौधरीलाई दिइएको थियो ।

सोही क्रममा माटो निकासीका लागि दिनेश यादवसँग सम्झौता भएपनि गाउँपालिकाले दिएको अनुमतिभन्दा बढी परिमाणमा माटो उत्खनन गरी आर्थिक अनियमितता गरेको पुष्टि भएको छ। स्थलगत नापजाँच गर्दा तोकिएको परिमाणभन्दा अस्वाभाविक बढी माटो निकाली बिक्री गरेको पाइएको आयोगले जनाएको छ ।

प्रतिवादीहरूले १० लाख ८ हजार ७०३ रुपियाँ ७४ पैसा बराबरको सार्वजनिक सम्पत्ति हानि(नोक्सानी गरेको भन्दै आयोगले सोही बराबरको बिगो कायम गरी सजायको मागदाबी गरेको छ।

मागदाबीको विवरण 

राधाकृष्ण चौधरी (अध्यक्ष) : भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो १० लाख ८ हजार ७०३ रुपियाँ ७४ पैसा कायम गरी कैद र बिगो बमोजिम जरिवाना तथा हिनामिना भएको रकम असुलउपर गर्न माग गरिएको छ।

दिनेश यादव (मतियार) : मुख्य कसुरदारसँगको मिलेमतोमा लाभ प्राप्त गर्ने मतियारको भूमिका निर्वाह गरेको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम मुख्य कसुरदार सरह नै सजाय र बिगो असुलको मागदाबी लिइएको छ।