• २६ माघ २०८२, सोमबार

मतदाता शिक्षा विशेष कार्यक्रम फागुन ३ देखि १७ सम्म

blog

काठमाडौँ, माघ २६ गते । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन हुने भएको छ । 

निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार निर्वाचन सफल बनाउन मतदाताको सचेत सहभागीता अनिवार्य हुने भएकाले आम–नागरिकलाई निर्वाचन प्रक्रिया, मताधिकारको महत्व तथा मतदान विधिबारे समयमै जानकारी दिन सो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । 

नेपालको संविधान, निर्वाचनसम्बन्धी प्रचलित कानुन, मतदाता शिक्षा नीति, निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ को दफा १७ बमोजिम मतदाता शिक्षा तथा निर्वाचन प्रचारप्रसार गर्ने उद्देश्यले मतदाता शिक्षा विशेष कार्यक्रम तयार गरेको आयोगले जनाएको छ ।

 उहाँले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय वातावरणमा सम्पन्न गर्नु निर्वाचन आयोगको प्रमुख दायित्व भएको बताउनुभयो । 

देशभरका ६ हजार ७४३ वडामा सो समयमा मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिने उहाँको भनाइ छ ।