हुम्ला, चैत १९ गते । बिहीबार बिहान ८ बजेबाट सुरु भएको यस वर्षको एसइई परीक्षा जिल्लाका सातै परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ। परीक्षा व्यवस्थित ढंगले सञ्चालन गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ भने स्थानीय तहसँगको समन्वयले पनि परीक्षा शान्तिपूर्ण बनाउन सहयोग पुर्याएको छ।
जिल्लाका पाँच वटा गाउँपालिकाका सात वटा परीक्षा केन्द्रमा परीक्षा शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको जानकारी नायब उपरीक्षक शंकर खड्काले दिनुभयो। हालसम्म कुनै अवाञ्छित घटना वा असामाजिक गतिविधि रिपोर्ट भएको छैन। बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ। परीक्षा मर्यादित र शान्तिपूर्ण रूपमा सञ्चालन हुन सवै पक्षको सहयोगले सम्भव भएको उहाँले बताउनुभयो।
सिमकोट गाउँपालिका – बालमन्दिर मावि परीक्षा केन्द्र, मानसरोवर नमूना मावि परीक्षा केन्द्र, सर्केगार्ड गाउँपालिका – हिमज्योति मावि केन्द्र, सर्केगार्ड गाउँपालिका – कोट मावि केन्द्र, अदानचुली गाउँपालिका – सुर्योदय मावि केन्द्र, ताँजाकोट गाउँपालिका – मदानादेव मावि केन्द्र र खार्पुनाथ गाउँपालिका – सीता मावि केन्द्रमा शान्तिपूर्णरुपमा परीक्षा भइरहेको छ। चार दिन अघि नै सबै परीक्षा कक्षमा प्रश्नपत्र र उत्तर पुस्तिका पुर्याइएको थियो।
यस वर्ष एसइई परीक्षा दिने परीक्षार्थी कुल १३ सय जना हुनुहुन्छ। यसमा नियमित तर्फ ५१८ छात्र र ४७९ छात्रा गरी कुल ९९७ जना परीक्षार्थी छन्। पूरक तथा ग्रेड वृद्धि परीक्षामा १२४ छात्र र १७९ छात्रा गरी कुल ३०३ जना परीक्षार्थीले फारम भरेका थिए। यी परीक्षार्थी साधारण र प्राविधिक धारा दुवैमा रहेका छन्।
नाम्खा गाउँपालिका (एक मात्र मावि) र चङ्खेली गाउँपालिका (दुई मावि) मा भने परीक्षा केन्द्र सञ्चालन भएको छैन।