• १३ साउन २०८१, आइतबार

तराईमा खडेरी, जनजीवन अस्तव्यस्त

blog

सर्लाही, साउन १ गते । धान रोपाइँको मध्य समयमा खडेरी हुँदा तराईका किसान निराश छन् । यस क्षेत्रमा पानी नपर्दा किसानले रोपाइँ गर्न पाएका छैनन्, रोपेको धान बाली पनि सुक्न थालेको छ । वर्षा हुने आशमा किसान रात दिन आकाशतिरै हेरेर बस्न बाध्य छन् । तराई मधेशका जिल्लामा यो वर्ष पर्याप्त वर्षा हुन सकेको छैन ।

असार दोस्रो साता दुई दिन सामान्य झरी परे पनि त्यसपछि पानी पर्न सकेको छैन । मध्य असारमा सामान्य झरी पर्दा हतार हतारमा रोपाइँ गरेका किसान फेरि पानी नपरेपछि खेतमा धाँजा फाटेर भर्खरै रोपेको धानबाली सुक्न थालेपछि चिन्तित भएका छन् । सिँचाइ सुविधा नभएको क्षेत्रका केही किसानले महँगो मूल्यको इन्धन खर्चेर पम्पसेट मार्फत सिँचाइ गरी रोपाइँ गर्ने र धान खेतमा पानी पटाउने काम गरिरहेका छन् । 

सर्लाहीको हरिपूर्वा नगरपालिका–९, वसन्तपुरका किसान रामकेवल रायले वर्षा नहुँदा खेतमा धाँजा फाँटेर धान सुक्न थालिसकेको गुनासो गर्नुभयो । “यो वर्ष त हामी किसान बर्बादीमै प¥यौँ, पानी नपर्दा महँगीको मल र जन (मजदुर) लगाएर रापेको धान सुकेर गयो,” रायले भन्नुभयो, “पानी पर्ला भनेर आकाशतिर हेर्दा हेर्दै असार गयो ।”

पानी नपरेकै कारण असार सक्किनै लाग्दा पनि आधाभन्दा धेरै किसानले रोपाइँ गर्न पाएका छैनन् । जिल्ला कृषि ज्ञान केन्द्र मलङ्गवाका प्रमुख कमलदेवप्रसाद कुशवाहाले पानी पर्न रोकिएपछि धान रोपाइँ ठप्प जस्तै भएको र रोपाइँ भइसकेको धान खेतमा समेत धाँजा फाटेको बताउनुभयो । कार्यालयका अनुसार सर्लाहीमा असार सकिँदासम्म ४५ देखि ५० प्रतिशतको हाराहारीमा मात्रै धान रोपाइँ भएको छ । “पानी पर्न छाडेपछि रोपाइँले गति नै लिन सकेन, रोपिसकेको धान खेतमा पनि धाँजा फाटेको छ,” कार्यालय प्रमुख कुशवाहाले भन्नुभयो ।

पानी नपर्दा धान चमारा आएर सुत्ला च्याप्ने बेला भएको मकै बाली पनि सुक्न थालेको किसानको भनाइ छ । खडेरीसँगै तराई क्षेत्रमा गर्मी पनि अत्यधिक छ । दिनभर टन्टलापुर घाम लाग्दा अत्यधिक गर्मी भई मानिस छट्पटिने गरेका छन् । यस क्षेत्रमा बिहान उज्यालो हुँदादेखि साँझसम्म नै टन्टलापुर घाम लागेर गर्मी हुने गरेको छ । टन्टलापुुर घाम र तातो हावाले मानिस घर बाहिर निस्कनै सकेका छैनन् । 

चिकित्सकले अत्यधिक गर्मीको समयमा पर्याप्त पानी पिउन र स्वच्छ तथा ताजा खानेकुरा मात्रै खान सुझाव दिएका छन् । “अत्यधिक गर्मीले गर्दा गर्मीजन्य सङ्क्रमणका बिरामी बढेका छन्, बेहोस हुने, अत्यधिक टाउको दुख्ने, रुघाखोकी, ज्वरोलगायत सङ्क्रमण बिरामीको चाप बढ्दो छ,” सदरमुकाम मलङ्गवास्थित डा. गुणेश्वर झाले भन्नुभयो, “गर्मीले गर्दा अत्यधिक पसिना जाने भएकाले यस्तो बेला पर्याप्त पानी पिउनुपर्छ र शरीरलाई शक्ति दिन ताजा र स्वच्छ खानेकुरा बढी खानुपर्छ ।”

‘लु’ ले जनजीवन प्रभावित 

यसैगरी सप्तरी समाचारदाताका अनुसार केही दिन यता सप्तरीलगायत पूर्वी तराईका जिल्लामा तातो हावा ‘लु’ चल्ने क्रम बढ्दै गएपछि यहाँको जनजीवन प्रभावित बनेको छ । गर्मी सुरु भएसँगै सप्तरीमा तापक्रम बढेर ४० डिग्री पुगेको छ ।अत्यधिक तापक्रमका कारण दिउँसो घरबाट बाहिर निस्कनेको सङ्ख्यामा कमी आएको छ ।

गर्मीका कारण राजविराजलगायतको बजार दिउँसो सुनसान देखिन थालेको छ भने बिहान र बेलुका मात्रै मानिसहरू बाहिर निस्कने गरेका छन् । अत्यधिक गर्मी र तातो हावा ‘लु’का कारण घरबाट बाहिर निस्कने बित्तिकै चक्कर लाग्ने गरेको अधिकांश स्थानीयले जनाएका छन् ।

असह्य गर्मी तथा तातो हावाले गर्दा ग्रामीण क्षेत्रलगायत सहरी क्षेत्रका सरकारी कार्यालय, बजार पसल र विद्यालयसमेत प्रभावित भएका छन् । गर्मीकै कारण लोड थेग्न नसक्दा विद्युत् आपूर्तिसमेत अनियमित हुँदा र भोल्टेज निकै कम आउँदा राजविराजलगायत आसपास क्षेत्रका नागरिकको जनजीवन थप कष्टकर बनेको स्थानीयको गुनासो छ ।

विद्युत् प्राधिकरण राजविराज वितरण केन्द्रले सकेसम्म विद्युत् आपूर्ति नियमित गर्ने प्रयास गरे पनि गर्मीको प्रभावले विद्युतीय उपकरण बिग्रिरहने कारणले थप समस्या निम्तिएको जनाएको छ । गर्मी बढ्दै गएपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत पातलिएको छ । त्यस्तै बजारमा फलफूल, उखुको जुस, चिसो पेय पदार्थको बिक्री एक्कासि बढेको छ । पङ्खा, कुलर र एसीको बिक्री पनि बढेको व्यवसायीले जनाएका छन् ।

यसैबीच अत्यधिक गर्मी र ‘लु’ले गर्दा विभिन्न प्रकारका सरुवा रोगका बिरामीको चाप पनि बढ्दै गएको यहाँस्थित अस्पतालका चिकित्सकले बताएका छन् । गजेन्द्रनारायण सिंह अस्पताल, छिन्नमस्ता अस्पताल राजविराज र यूनिक शिक्षण अस्पताल रूपनीमा बिरामीको चाप बढ्दै गएको छ । ‘लु’बाट बच्न खानपानमा ध्यान दिनुका साथै पानीलाई उमालेर वा फिल्टर गरेर मात्र खान चिकित्सकले सुझाव दिएका छन् । दैनिक प्रयोग गर्ने सामग्री सफा राख्ने, खाना खानुभन्दा अघि र पछि हात राम्रोसँग साबुन पानीले धुनुका साथै अत्यावश्यक काम बाहेक दिउँसोको समयमा बाहिर ननिस्कन चिकित्सकले सुझाएका छन् ।