काठमाडौँ, कात्तिक २१ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग गरेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई पुनः पार्टीमा फर्किन आह्वान गर्नुभएको छ ।
उहाँले विभिन्न कारण र कालखण्डमा पार्टी छाडेका नेता–कार्यकर्तालाई सङ्कोच, अप्ठ्यारो वा धक नमानी आफ्नो पुरानै घरमा फर्किन आग्रह गर्नुभएको हो । अध्यक्ष यादवले भन्नुभयो, “जसपा नेपालको ढोका सबैका लागि खुला छ, फर्किने सबैलाई हार्दिक स्वागत छ ।”
ललितपुरको इमाडोलमा बिहीबार सम्पन्न जसपा नेपालको केन्द्रीय समिति बैठक अध्यक्ष यादवको अध्यक्षतामा बसेको थियो । सो बैठकले पनि विगतका दिनमा सङ्गठन छाडेका नेता–कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गर्ने र आउने सबैलाई स्वागत गर्ने निर्णय गरेको बताइएको छ ।
अध्यक्ष यादवले भन्नुभयो, “पार्टी स्थापनाकालदेखि विभिन्न कारणले असन्तुष्ट भई पार्टी छाड्नुभएका सबैलाई जसपा नेपालमा पुनः स्वागत छ । जसपा नेपाल हामी सबैको साझा सङ्गठन हो, त्यसैले जुनसुकै कारणले पार्टी परित्याग गर्नुभएका साथीहरूले फर्किन कुनै दुःख, धक वा अप्ठ्यारो मान्नुपर्दैन ।”
उहाँले पार्टी छाडेका नेता–कार्यकर्तालाई सम्पर्कमा आउन पनि आग्रह गर्नुभयो । उहाँले बताउनुभयो, “फर्किने सबैलाई उहाँहरूको क्षमता, दक्षता, भूमिका र योग्यता अनुसार पार्टीभित्र उचित स्थान र जिम्मेवारी दिइनेछ ।”
मुलुकमा विकसित वर्तमान राजनीतिक परिदृश्यलाई दृष्टिगत गर्दै जसपा नेपालले पार्टीलाई अझ सङ्गठित, समावेशी र बृहत् बनाउने अभियान अघि बढाइरहेको बताइएको छ । यसै उद्देश्यअनुरूप पार्टी छाडेकालाई पुनः पुरानै घर फर्काउने अभियानलाई प्राथमिकताका साथ सञ्चालन गरिने अध्यक्ष यादवले बताउनुभयो ।