तम्घास समाचारदाता
तम्घास (गुल्मी), माघ २७ गते । गुल्मीमा नयाँभन्दा प्रतिलिपि नागरिकता लिने बढी देखिएका छन् । गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म जिल्ला प्रशासन कार्यालयबाट १०९ जनाले नयाँ नागरिकता लिँदा १३४ जनाले प्रतिलिपि लिएका छन् ।
नागरिकताको माया नगर्ने, जथाभाबी फाल्ने गरेका कारण पनि प्रतिलिपि लिनेको सङ्ख्या बढेको प्रशासनले जनाएको छ । यसका साथै राष्ट्रिय परिचयपत्र बनाउँदा पहिले भएका गल्ती पनि देखिने भएकाले प्रतिलिपि लिनेको सङ्ख्या बढेको हुन सक्ने गैरेले बताउनुभयो । यस्तै सोही समयावधिमा एक जनाले नागरिकता त्याग, नाबालक परिचयपत्र नौ, राहदानीको आवेदन सङ्कलन १४४, राहदानी वितरण १८०, राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन ३९३, राष्ट्रिय परिचयपत्र वितरण २९२, दलित, जनजाति, पारिवारिक विवरण तथा अन्य प्रमाणित २३ र दुई वटा संस्था नवीकरण भएको छ ।
एक साताको समयावधिमा राहदानीबाट सात लाख २५ हजार, संस्था दर्ता तथा नवीकरणबाट तीन हजार, राष्ट्रिय परिचयपत्रबाट ११ हजार पाँच सय गरी कुल सात लाख ३९ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको हो ।