• २७ माघ २०८२, मङ्गलबार

घोराही–तुलसीपुर सडक

सधैँ सबै उम्मेदवारको चुनावी एजेन्डा

blog

निर्माण हुँदै गरेको घोराही–तुलसीपुर सडक ।

दाङ समाचारदाता

दाङ, माघ २७ गते । यसअघिका निर्वाचनमा चुनावी एजेन्डा बन्दै आएको घोराही–तुलसीपुर चार लेन सडक पुनः यस पटकको प्रतिनिधि सभाको निर्वाचनमा राजननीतिक दलहरूले चुनावी एजेन्डा बनाउन थालेका छन् । विशेष गरी दाङ क्षेत्र नं. २ र ३ का उम्मेदवारले यसलाई प्राथमिकतामा राखेर आफ्ना एजेन्डा अगाडि सार्दै आएका छन् । 

यद्यपि लामो समयदेखि निर्माणमा अलपत्र अवस्थामा रहेको उक्त सडक अहिले नयाँ ठेक्का सुरु भएसँगै निर्माण अगाडि बढिसकेको छ । निर्माणको काम तीव्र रूपमा अगाडि बढेसंगै अहिले यहाँका राजनीतिक दलका उम्मेदवारले आफ्नो पहलमा निर्माण अगाडि बढेको भन्दै जस लिने होडबाजी पनि सुरु भएको छ । दाङ क्षेत्र नं. २ का उम्मेदवार शङ्कर पोखरेलले मतदातासामु आफ्नो सक्रियता र पहलमा उक्त सडकले गति लिएको दाबी गर्दै आउनुभएको छ । त्यसै गरी सोही क्षेत्रका नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरले आफ्नो पार्टी सरकारमा भएका बेला निर्माण सुरु गरिएको दाबी गर्दै आउनुभएको छ । त्यसै गरी सो सडक निर्माणका लागि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार निर्मल आचार्यले पनि आफ्नो पार्टीको सरकार रहेको बेला पुरानो ठेक्कालाई तोडेर नयाँ सम्झौतामार्फत घोराही–तुलसीपुर चार लेन सडकले निर्माणले गति लिएको दाबी गर्दै आउनुभएको छ । 

दाङ क्षेत्र नं. ३ का नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले आफ्नो पहलमा घोराही–तुलसीपुर चार लेन सडक निर्माणले गति लिएको दाबी गर्दै आउनुभएको छ । घोराही–तुलसीपुर चार लेन सडक स्तरोन्नति तथा निर्माणका लागि अहिले काठमाडौँस्थित दिवा–बन्दन भगवती जेभीसँग २०८२ असार २४ गते ठेक्का सम्झौता गरेर निर्माण अगाडि बढाइएको छ । दुई अर्ब ५२ करोड ३७ लाख दुई हजार ३३८ रुपियाँको लागतमा २०८५ असार २४ गतेसम्म निर्माण  सम्पन्न गर्ने सम्झौतामा उल्लेख गरिएको छ । 

यसअघि घोराही–तुलसीपुर चार लेन सडक स्तरोन्नतिको ठेक्का भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बईले पाएको थियो । तोकिएको समयभित्र कामको प्रगति नदेखिएपछि नेपाल सरकारले २०८० जेठमा उक्त ठेक्का रद्द गरेको थियो । त्यसपछि नयाँ ठेक्का प्रक्रियामार्फत दिवा–बन्दन भगवती जेभीसँग सम्झौता गरी निर्माण पुनः सुरु गरिएको हो ।

दिवा–बन्दन भगवती जेभीका प्रबन्धक इन्जिनियर सुनील ढुङ्गानाका अनुसार घोराहीको पेट्रोल पम्पदेखि तुलसीपुरको हात्तीखौरसम्म करिब २१ किलोमिटर सडकखण्डमध्ये पहिलो चरणमा गुर्जेखोलादेखि सौडिकुलासम्म काम गरिने छ । सम्झौता अनुसार सहरी क्षेत्रमा २० मिटर कालोपत्रे सडक र फुटपाथसहित कुल ३० मिटर चौडाइ कायम गरिने ढुङ्गानाले बताउनुभयो ।