• ७ मंसिर २०८१, शुक्रबार

कला सिर्जनामा रमाएका बलामी

blog

शिवा तामाङ

काठमाडौँ, साउन १ गते । कलाकार बी.आर.(बेखराम) बलामी विगत तीन दशकदेखि कला सिर्जनामा रमाइरहनुभएको छ । मकवानपुर, चित्लाङ गा.वि.स. कपुगाउँमा जन्मनुभएका कलाकार बलामीले घर, स्कुलका भित्तामा चक, कोइला, सिसाकलमले चित्र कोर्दै थालेको आफ्नो यात्रालाई निरन्तर अगाडि बढाइरहनुभएको छ ।

बलामीले स्कुलमा चित्र बनाउन सिकाउने वातावरण थिएन, चित्र बनाउँदा शिक्षक वा अभिभावकले हौसला दिने चलन पनि थिएन तर साथीभाइले भने चित्रहरूलाई झुम्मिएर हेरेको सम्झनामा ताजा रहेको सुनाउनुभयो । सामाजिक शिक्षा किताबमा घोडसवार योद्धाका रूपमा पढाइने तैमुरलेर भन्ने पात्रको घोडा चढेर देखाएको ठाँटबाटले प्रभावित भएर बलामीले स्कुलको ड्रेसको सर्टमै सिसाकलमले चित्र कोर्नुभयो । 

चित्रमा तैमुलेर दुरुस्तै बनेपछि लुगा धुँदा नि नजावस् भन्ने सोचले त्यसैमाथि धागोबाट इम्ब्रोइडरी गर्नुभयो । आफ्नै रुचिले थालेको उहाँको कलायात्रा २०४४ सालदेखि भने व्यावसायिक रूपमै अगाडि बढेको हो । उहाँका दाजु अर्जुन बलामीले पाटनको मङ्गलबजारमा ‘अर्जुन ग्यालरी’ खोलेर भ्याली पेन्टिङ (स्वयम्भू, पशुपतिनाथलगायतका मन्दिरसहित हिमाल, पहाड एकै चित्रमा) बनाएर बेच्नुहुन्थ्यो । दाजुसँगै बसेर भ्याली पेन्टिङ बनाउन थालेको पाँचौँ दिनमै उहाँको चित्र बिक्री भयो । उहाँका अनुसार त्यति बेला भ्याली पेन्टिङ भन्दै कलाकार बलामीद्वयले बनाएका चित्र नेपाल घुम्न आएका पर्यटकले मात्र किन्थे, नेपालीले चित्र किनेर घरमा राख्ने चलन कमै थियो । 

आर्ट ग्यालरी फाट्टफुट्ट रूपमा खुल्न थालेको त्यो समयमा राजधानीकै ‘मिलाएर एटलियर ग्यालरी’मा उहाँले थप तीन महिना तालिम लिएपछि उहाँ यस क्षेत्रमा आफ्नै सुझबुझले अगाडि बढिरहनुभएको बताउनुहुन्छ । कलाकार बलामीले आफू चित्र मात्र बनाएर नबसी यही क्षेत्रमा संलग्न कलाकारको सिर्जनालाई व्यावसायिक रूपमा साथ दिने सोचले कलाकृतिको सङ्कलन थाल्नुभयो । उहाँले ठमेलस्थित जेपी रोडमा निर्वाणा आर्ट ग्यालरी, पशुपति आर्ट ग्यालरी, बुद्ध आर्ट ग्यालरी,अब्स्ट्रयाक आर्ट ग्यालरी, आर्ट एन्ड फ्रेम ग्यालरीलगायतका ग्यालरी राजधानीका विभिन्न स्थानमा खोल्नुभयो । 

हाल उहाँसँग ३० जना कलाकारले निरन्तर काम गरिरहनुभएको छ । उहाँहरूले सिर्जना गर्नुभएका मुहारचित्र, दृश्यचित्र, हिमाल, पहाड, विविध जनजातिका चित्र, आधुनिक, मूर्त र अमूर्त चित्रहरू सङ्गृहित छन् । उहाँका अनुसार सन् १९९० देखि २००० सम्म कला क्षेत्रका लागि स्वर्णिम समय थियो । प्रसस्त पर्यटकको आवत–जावत थियो, कलाको व्यापार पनि राम्रो थियो तर त्यसपछिका दिन सबै व्यवसाय, क्षेत्र प्रभावित छन्, अबका दिन सबैका लागि र कला क्षेत्रका लागि पनि राम्रो हुने उहाँले आशा व्यक्त गर्नुभयो ।