• २७ माघ २०८२, मङ्गलबार

चेपाङ समुदायबाट पाँच उम्मेदवार

blog

चितवन समाचारदाता

चितवन, माघ २७ गते  । प्रतिनिधि सभा निर्वाचनमा अति सीमान्तकृत चेपाङ समुदायबाट पाँच जनाले उम्मेदवारी दिएका छन् । चितवन, धादिङ, मकवानपुर, गोरखा मुख्य वासस्थान रहेको चेपाङ समुदायबाट विभिन्न पार्टीबाट एक जना प्रत्यक्षतर्फ र चार जना समानुपातिकतर्फ उम्मेदवार भई चुनावी प्रतिस्पर्धामा सहभागी हुनुभएको छ । 

नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले लामो समयदेखि पछाडि पारिएको चेपाङ समुदायले पछिल्लो समय अवसर प्राप्त गर्न थालेको बताउनुभयो । अहिलेको प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनमा मकवानपुर–२ मा सुवराज चेपाङ संयुक्त नागरिक पार्टीबाट उम्मेदवार बन्नुभएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–५ निवासी उहाँले पछाडि पारिएको समुदायको मात्र नभएर यस क्षेत्रकै विकासका लागि आफ्नो उम्मेदवारी भएको बताउनुभयो । 

त्यस्तै गरी नेकपा (एमाले) का तर्फबाट सन्तबहादुर चेपाङ चितवनको निर्वाचन क्षेत्र नम्बर २ बाट समानुपातिकतर्फ उम्मेदवार बन्नुभएको छ । चितवनको कालिका नगरपालिका शक्तिखोर घर भएका उहाँ विभिन्न सामाजिक क्षेत्रमा रहेर काम गर्नुभएको छ । विज्ञान विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका सन्तबहादुरले लामो सयमपछि आफ्नो समुदायले अवसर पाएको बताउनुभयो । देशविदेशमा अध्ययन भ्रमण गरी सामाजिक रूपान्तरणका क्षेत्रमा काम गरेका उहाँले विजयी भएपश्चात् सामाजिक विकासको काममा आफूलाई समर्पित गर्ने भनाइ छ । 

नेपाली कम्युनिस्ट पार्टी नेकपाका तर्फबाट मकवानपुर निर्वाचन क्षेत्र नं. २ मा समानुपातिकतर्फका उम्मेदवार मङ्गलसिंह चेपाङ हुनुहुन्छ । राजनीतिक तथा सामाजिक कार्यव्रmममा चेपाङ समुदायलाई पछाडि पारिँदै आएको थियो । अहिले अवसर आएकाले आफूलाई खुसी लागेको बताउनुभयो । 

मकवानपुरको मनहरी गाउँपालिका–३, सिद्धकालीका ३९ वर्षीय मङ्गलसिंह पढ्नमा अब्बल हुनुहुन्थ्यो । कक्षा ६ पढ्दापढ्दै तत्कालीन माओवादी पार्टीमा लागेर युद्धमा होमिनुभएको थियो । उहाँ मात्र होइन, उहाँका दाजु राजु चेपाङ पनि माओवादीमा नै जोडिनुभएको थियो । दुवै दाजुभाइले मुलुकमा परिवर्तन गर्नु पर्छ भन्दै बन्दुक बोक्नुभएको थियो । 

प्लाटुन कमान्डरसम्म भएर परिवर्तनका निम्ति युद्ध लडेको उहाँले बताउनुभयो । शान्ति प्रव्रिmया सुरु भएपछि सेना समायोजन गर्ने व्रmममा पाँच लाख रुपियाँ लिएर स्वेच्छिक अवकाश लिनुभएको थियो । उहाँ त्यति बेला माओवादी सेनाको अस्थायी शिविर सैनामैनामा बस्नुभएको थियो । 

प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट चितवनको निर्वाचन क्षेत्र नं. १ मा समानुपातिक उम्मेदवारतर्फ विश्वास चेपाङ र त्यस्तै गरी निर्वाचन क्षेत्र नं. २ मा समानुपातिक तर्फकै सोमबहादुर चेपाङ उम्मेदवार बन्नुभएको छ । 

चितवनको राप्ती नगरपालिका–११ स्थित विकट कोराकगाउँका ३३ वर्षीय विश्वास चेपाङले भोलि संसद्‍मा पुग्न पाए चेपाङ समुदायको प्रतिनिधित्व गर्ने बताउनुभयो । आफ्नो समुदायमा व्याप्त 

परनिर्भता हटाएर आत्मनिर्भर बनाउनेतर्फ लाग्ने उहाँको भनाइ छ । 

अहिले पार्टीमा पनि आदिवासी क्षेत्रको नेतृत्व गर्न लागिरहेको बताउनुभयो । उहाँ अहिले एक गैरसरकारी संस्थामा कार्यरत हुनुहुन्छ । उहाँले भन्नुभयो, “मैले बेलायतको लिङ्कन विश्वविद्यालयबाट मास्टर्स इन एड्भान्स डेभलपमेन्ट इन सोसोलोजीमा मास्टर्स गरेको छु, काठमाडौँ विश्वविद्यालयबाट डेभलपमेन्ट स्टडिजमा एमफिल गर्दै छु ।”

२०७८ को जनगणना अनुसार चेपाङ समुदाय नेपालभरिमा ८४ हजार ३६४ रहेको छ । २०७८ को चितवनमा सबैभन्दा धेरै ३५ हजार ६३७ जना रहेका छन् । चेपाङ समुदायको मुख्य बासस्थान चितवन, मकवानपुर, धादिङ र गोरखा रहेका छन् ।