• २७ माघ २०८२, मङ्गलबार

निर्वाचनका लागि भित्रिए सवारीसाधन

blog

भैरहवा समाचारदाता

भैरहवा, माघ २७ गते । आगामी प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि भारत सरकारले नेपाली सेनालाई उपलब्ध गराएको ५० वटा सवारीसाधन भैरहवा नाकाबाट नेपाल भित्रिएका छन् । झन्डै ३० करोड रुपियाँ मूल्यका ती गाडी नेपाल सरकारको निर्णय अनुसार भन्सार सहुलियतमा नेपाल ल्याइएका हुन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलक्षित भारतीय सेनामार्फत नेपाली सेनालाई सहयोगस्वरूप ती सवारीसाधन उपलब्ध गराइएको हो ।

भैरहवा भन्सार कार्यालयका अनुसार भारतको जब्बलपुरबाट ल्याइएका ती गाडी टाटा कम्पनीका २०२५ मोडेलका मिनी ट्रक हुन् । भन्सार कागजात अनुसार गाडीको कुल मूल्य १८ करोड ४२ लाख ८८ हजार ४७० भारतीय रुपियाँ उल्लेख छ । ती सबै गाडी भन्सार राजस्व छुटमा 

नेपाल भित्रिएका हुन् । भैरहवा भन्सार कार्यालय प्रमुख हरिहर पौडेलले अर्थ मन्त्रालयको राजस्व छुट दिने निर्णयसहितको पत्रका आधारमा गाडी भन्सार छुटमा भित्र्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार ७.५ टन क्षमताका २० वटा र २.५ टन क्षमताका ३० वटा गरी दुई प्रकारका मिनी ट्रक ल्याइएका छन् । भन्सार जाँचपास प्रक्रियाका क्रममा नेपाली सेनाका उच्च अधिकारीसहितको टोली भन्सार कार्यालयमा पुगेको थियो । जाँचपासपछि नेपाली सेनाले सुरक्षा घेरामा गाडी भैरहवाबाट काठमाडौँ लगेको छ । 

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले नेपाल सरकार र भारत सरकारबिचको आपसी समझदारी अनुसार निर्वाचन प्रयोजनका लागि ती गाडी नेपाल ल्याइएको बताउनुभयो ।