यादवराज पुरी
रौतहट, माघ २७ गते । आसन्न प्रतिनिधि सभा निर्वाचनमा रौतहट क्षेत्र नं. ४ मा नयाँ पुस्ता र पुराना अनुहारबिच प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी ३६ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । तीमध्ये नेपाली कांग्रेसका उम्मेदवार देवीप्रसाद तिमल्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल, नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराई, नेकपा (एमाले) का रामजी साह, जनता समाजवादी पार्टीका राजकुमार दास र आमजनता पार्टीका ऋषि धमला चर्चामा हुनुहुन्छ ।
जनमत पार्टीका कल्याण पटेल, उज्यालो नेपालका तुलसी गिरी, प्रगतिशील लोकतान्त्रिक पार्टीका सत्यनारायण भगत पनि चुनावी दौडाहामा हुनुहुन्छ । उहाँहरूमध्ये कांग्रेस नेता तिमल्सिना, नेकपाका भट्टराई र प्रगतिशीलका भगत मात्र पुराना अनुहार हुनुहुन्छ । विगतका प्रतिनिधि सभा निर्वाचन २०७४ र २०७९ मा दुई पटक निर्वाचित नेपाली कांग्रेसका नेता देवीप्रसाद तिमल्सिनाले पुनः उम्मेदवारी दिनुभएको छ । उहाँ ‘ह्याट्रिक’ गर्ने लक्ष्यका साथ चुनावी मैदानमा उत्रिनुभएको छ ।
कांग्रेस नेता तिमल्सिनाले कार्यकर्ता र मतदाता भेटघाट कार्यव्रmममा विगतमा सुरु गरिएका पूर्वाधार विकासका योजना सडक, पुल, सिँचाइलगायत शिक्षा र स्वास्थ्यका अधुरा काम पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । २०७४ सालमा तिमल्सिनाले २८ हजार २८८ मतले विजयी हुुनुभएको थियो । उहाँसँग प्रतिस्पर्धामा रहेका एमालेका नेता डाक्टर वंशीधर मिश्रले २३ हजार छ सय मत ल्याउनुभएको थियो । यसै गरी २०७९ मा लोकवाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका नेता तिमल्सिनाले ३४ हजार १६१ मत ल्याई जनता समाजवादी पार्टीसँग गठबन्धन गरेका एमालेका उम्मेदवार उद्धव रेग्मीलाई सात हजार ६०२ मतले पराजित गर्नुभएको थियो ।
यसैबिच लामो समयदेखि शिक्षा सेवामा समर्पित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले जनताले चाहेको परिवर्तनको नारासहित नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै चुनावी अभियान तीव्र पार्नुभएको छ । पुराना दल र पुराना नेताप्रति जनता असन्तुष्ट रहेकाले जनचाहनाबमोजिम नै आफू उम्मेदवार बनेको हुँदा विजय सुनिश्चित रहेको उहाँको दाबी छ । शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा नवीनतम सुधार ल्याउने प्रतिबद्धताले उम्मेदवार पौडेल युवापुस्ताको आकर्षण बन्नुभएको वृन्दावन–३ का स्वतन्त्र युवा नीरजकुमार यादवको धारणा छ ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट दोस्रो संविधान सभा सदस्यमा निर्वाचित हाल नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामकुमार भट्टराई पनि चुनावी चर्चामा हुनुहुन्छ । उहाँले सङ्घीयता, सामाजिक न्याय र समावेशी विकासलाई मुख्य एजेन्डा बनाउँदै मतदातामाझ विश्वास दिलाउने प्रयास गरिरहनुभएको छ । तत्कालीन माओवादी केन्द्रसित पार्टी एकता भएकाले पनि चुनाव जित्नेमा उहाँ विश्वस्त हुनुहुन्छ ।
चन्द्रपुुर नगरपालिका–३ का निर्माण व्यवसायी सन्तोष चौहान भन्नुहुन्छ, “नेता भट्टराईले आफ्नो कार्यकालमा ‘एक पुल, एक सडक’ को अवधारणा अनुरूप साबिक चन्द्रनिगाहपुर–३ र १ जोड्ने चाँदी नदीको पुल र गाविस फन्को मार्ने रिङरोड निर्माणको थालनी गर्नुभएको थियो । ती योजनालाई निर्वाचित सांसदले निरन्तरता नदिएका कारण हालसम्म अलपत्र छ । उहाँको मुख्य एजेन्डा भनेकै उक्त योजना पूरा गर्ने रहेकाले पनि उहाँ हाल चर्चामा हुनुहुन्छ ।”
आमजनता पार्टीका उम्मेदवार ऋषि धमला जनतामाझ मत माग्ने फरक शैलीका कारण चर्चामा हुनुहुन्छ । जनतासँग प्रत्यक्ष संवाद, हास्यव्यङ्ग्य मिसिएको भाषण र आत्मीय व्यवहारले उहाँको प्रचार अभियानले फरक पहिचान पाएको छ । विभिन्न व्रिmयाकलापले उहाँ सामाजिक सञ्जालमा ‘भाइरल’ हुनुहुन्छ । यसै गरी नेकपा (एमाले) का उम्मेदवार रामजी साहले विकास, स्थिरता र सुशासनको नारा उठाउँदै चुनावी अभियानलाई तीव्रता दिनुभएको छ । पुराना र नयाँ अनुहारबिचको प्रतिस्पर्धाले रौतहट–४ को निर्वाचनलाई थप रोचक बनाएको छ । मतदाता यस पटक विकास, विश्वास र परिवर्तनबिचको विकल्प चुन्ने तयारीमा रहेका राजनीतिक विश्लेषक बिन्दा सहनी बताउनुहुन्छ ।