खोटाङ समाचारदाता
खोटाङ, माघ २७ गते । खोटाङको दक्षिणी क्षेत्र पहिलो पटक वंशिलाघाटबाट तराईसँग सिधा यातायातमा जोडिएको छ । वंशिलाघाटस्थित सुनकोशीमा निर्माण भएको अस्थायी बेलिब्रिजले खोटाङको दक्षिणी क्षेत्रलाई तराईसँग जोडेको हो ।
खोटाङको वराहपोखरी गाउँपालिका–५, पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ जोड्ने वंशिलाघाटस्थित सुनकोशीमा शनिबारबाट बेलिब्रिज सञ्चालनमा आएको छ । वंशिलाघाटमा पहिलो पटक बेलिब्रिज जडान हुँदा जिल्लाको दक्षिणी क्षेत्र पनि पहिलो पटक तराईसँग सिधा यातायातमा जोडिएको हो ।
अस्थायी रूपमा जडान गरिएको बेलिब्रिजले केही महिनाका लागि खोटाङका दक्षिणी क्षेत्रका नागरिकलाई खुसी दिएको छ । जिल्लाको जन्तेढुङ्गा गाउँपालिका, वराहपोखरी गाउँपालिका, खोटेहाङ गाउँपालिकालगायत भोजपुरका केही गाउँका नागरिकलाई तराई जान आउन सबैभन्दा छोटो दुरीको नाका वंशिलाघाट रहेको छ । उदयपुरको बेलटारनजिकै पर्ने वंशिलाघाटमा बेलिब्रिज निर्माण भएसँगै केही महिनाका लागि खाद्यान्न आयातनिर्यात र यात्रुलाई तराई आवतजावत गर्न सहज भएको कोशी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले बताउनुभयो ।
वंशिलाघाटमा सङ्घीय सरकारको बजेटबाट पक्की पुल निर्माणको काम पनि भइरहेको छ । पुल निर्माण नहुँदासम्म बेलिब्रिजबाट अस्थायी रूपमा सिधा यातायात सञ्चालनका लागि कोशी प्रदेश भौतिक पूर्वाधार विकास कार्यालयबाट आव २०८१/८२ मा एक करोड ८७ लाखमा खरिद गरी पूर्वाधार विकास कार्यालय खोटाङलाई हस्तान्तरण भएको बेलिब्रिज जडान गरिएको हो । ५१.८१ मिटर लम्बाइ, ४.१ मिटर चौडाइ भएको बेलिब्रिज गुरुकुल बिल्डर्स एन्ड सप्लायर्स प्रालि रौतहटले मूल्य अभिवृद्धि करसहित ५७ लाखमा जडान गरेको भौतिक पूर्वाधार कार्यालय खोटाङले जनाएको छ ।
नदीमा पानीको बहाब बढ्न थालेपछि आगामी जेठमा बेलिब्रिज निकालेर राख्ने गरी सम्झौता भएको बताइएको छ । हाल बेलिब्रिज जडान गरिएको वंशिलाघाटमा मोटरेबल पक्की पुल निर्माणका लागि १९ करोड १८ लाख ४१ हजार चार सय रुपियाँ लागतमा ३३ महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने गरी २०७९ साल मङ्सिर–१ मा कालिका–बेदांसी जेभीले सम्झौता गरेको थियो । पुल निर्माणमा चरम ढिलासुस्ती भइरहेको छ । निरन्तरको ताकितापश्चात् अहिले निर्माण कम्पनीले पुल काम पनि धमाधम गरिरहेको मन्त्री राईले बताउनुभयो ।
वंशिलाघाटमा झोलुङ्गे पुलको साहारामा ठेलागाडीबाट सामान वारपार गर्नुपर्ने बाध्यता रहेको छ । हिउँदको महिनामा नदीबाटै जोखिम मोलेर काठ तार्ने गरिएको छ । शनिबारबाट सञ्चालनमा आएको बेलिब्रिजले केही महिनाका लागि उक्त सास्ती हटाएको छ ।