हुम्ला समाचारदाता
हुम्ला, माघ २७ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिएका राजनीति दलका उम्मेदवार अधिकांश नयाँँ भए पनि उनीहरूका प्रतिबद्धता भने पुरानै छन् । २०६४ सालदेखि निर्वाचनमा भाग लिने उम्मेदवारले सार्वजनिक गर्दै आएका प्रतिबद्धता नयाँ नभएको हुँदा यस पटकको निर्वाचनमा पनि तिनै पुराना प्रतिबद्धता छन् ।
नेपालमा गणतन्त्र आएपछि भएका सबै आमनिर्वाचनमा एउटै र पुरानै प्रतिबद्धता उम्मेदवारले सार्वजनिक गर्ने गरेको सिमकोट गाउँँपालिका–५ का अधिकारकर्मी मिमसिंह नेपालीले बताउनुभयो । आगामी फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा जिल्लाका सात राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी र प्रगतिशील लोकतान्त्रिक पार्टीले उम्मेदवार सबै नयाँँ उठाएका छन् । ती उम्मेदवारले सार्वजनिक गरेका लिखित प्रतिबद्धता र जनताको घरदैलोमा जाँदा व्यक्त गर्ने मौखिक प्रतिबद्धता हेर्दा यसअघि आएकै प्रतिबद्धतासँग मिल्ने उहाँले बताउनुभयो । जनताको घरदैलोमा मतदातासँग भेट्दा दलका नेता तथा उम्मेदवारले यसअघिका निर्वाचनमा सार्वजनिक गरिएका प्रतिबद्धता जस्तै शिक्षा, स्वास्थ्य, सिँचाइ, भौतिक पूर्वाधार विकास, सञ्चार, कर्णाली कोरिडोरलगायतका कुरा समेटेर सार्वजनिक गरिएको जानकारी उहाँँले दिनुभयो ।
२०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा व्यक्त गरिएका प्रतिबद्धता २०८२ सालको प्रतिनिधि सभा निर्वाचनसम्म आउँदा पनि उही पर्नु भनेको जिल्लाको अवस्था कुन स्तरमा रहेको छ भन्ने प्रस्ट भएको गैरसरकारी संस्था महासङ्घ हुम्लाका अध्यक्ष जनक बुढाले बताउनुभयो । सधैँ एउटै प्रतिबद्धता आउनु भनेको जनप्रतिनिधिले हालसम्म के गरे भन्ने प्रश्न पनि तेर्सिएको उहाँँले जनाउनुभयो । अहिलेको समय अनुसारका काम गर्नेतर्फ उम्मेदवारले सोच्न नसकेको भनाइ उहाँको छ । विसं २०८२ असार २२ गते कर्णाली कोरिडोरका खार्पुनाथ गाउँँपालिका–५ को खार्पुमा दोजाम कर्णालीमाथि बेलिब्रिज निर्माण भएर हुम्लाको सदरमुकाम सिमकोट औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएपछि पहिलो पटक निर्वाचनमा दलका उम्मेदवारले सो बुँदा हटाएका छन् ।