बिष्णुप्रसाद पोखरेल
दमक, माघ २६ गते । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ पछि एमालेले जनताको अभिमत लिएर सरकार बनाउने दाबी गर्नुभएको छ । उहाँले मुलकको सम्वृद्धी र विकासको लागि एमालेको नीति जनताले बुझेकाले जित निश्चित रहेको जनाउँदै यस्तो दाबी गर्नुभएको हो ।
झापा क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार समेत रहनुभएका ओलीले सोमबार गौरीगन्जमा भएको मतदाता भेटघाट कार्यक्रममा बोल्दै भदौ २३ गतेको घटना दुखद भएको र २४ गतेको बिध्वंसले मूलकको अर्थतन्त्र नै धेरै पछि परेको जनाउनुभयो । हामी कहिल्यै जलाउने योजना बनाउदैनौ र बनाउने योजना माघ अघि सार्छौं, ओलीले भन्नुभयो ।
"कसलाई मतदिने मतदाताको नीजि अधिकार भएको ओलीको भनाइ छ । मत दिने अधिकार तपाई मतदातामा निर्भर रहन्छ यसर्थ सही ठाँउमा मतदान गर्नुहोस्", ओलीले भन्नुभयो । कसैको लैलैमा लागेर मतदान नगर्न अनुरोध गर्दै उहाँले मतको सही प्रयोगले मूलक सही दिशा अगाल्न सक्ने जनाउनुभयो ।
मुलकको दिगो विकास र भविष्य निर्माणमा विवेकको मतको ठूलो भूमिका हुने उहाँले बताउनुभयो । देश बनाउने पार्टी एमाले भएकाले अब एमालेको सरकार बन्ने र अधुरा विकास निर्माणका कामहरु पनि पुरा गर्ने ओलीले प्रतिबद्धता जनाउनुभयो ।
सामाजिक सुरक्षाको क्षेत्रमा महिला, बालबालिका, जेष्ठ नागरिक र विपन्नहरुका लागि आफूले धेरै योजनाहरु अघि ल्याएको ओलीले बताउनुभयो । ओलीले २०५१ सालमा सुरु भएको सामाजिक सुरक्षा भत्ता अघिल्लो पटक प्रधानमन्त्री हुँदा आफूले ४ हजार पुर्याएकाे उल्लेख गर्नुभयो ।