काठमाडाैं, माघ २६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण गर्ने प्रमुख दायित्व सरकारको भएको बताउनुभएको छ । आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा सोमवार आयोजित पुरस्कार तथा प्रशंसापत्र वितरण कार्यक्रममा उहाँले भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा हुनुपर्ने बताउनुभएको हो ।
उहाँले सुशासन कायम गर्नको लागी संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले ऐन, नियम र कानुनको चुस्त र दुरुस्त कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । भ्रष्टाचा नियन्त्रणमा अख्तियार अन्तिम अस्त्रका रूपमा प्रयोग हुने संस्था मात्र भएको उहाँको भनाइ छ । सुशासन कायम गर्न सरकार, नागरिक समाज र सञ्चारजगत सबैको भुमिका अपरिहार्य रहेको बताउनुभयो ।
उहाँले अख्तियार ऐन, नियम र कानुन अनुसार भ्रष्टाचार नियन्त्रणमा निरन्तर क्रियाशील रहेको बताउनु भयो । भ्रष्टाचार नियन्त्रणको लागि जनशक्ति वृद्धि, कार्यशैलीमा परिवर्तन र प्रविधिको प्रयोग बढाइएको उहाँको भनाई छ । उहाँले प्रविधिको विकाससँगै भ्रष्टाचारका प्रवृत्ति पनि जटिल बन्दै गएको उल्लेख गर्नुभयो ।
भ्रष्टाचार नियन्त्रणका लागि अझ सशक्त ढंगले अघि बढ्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ । उहाँले पछिल्ला वर्षहरूमा आयोगप्रति जनविश्वास बढ्दै गएको पनि दाबी गर्नुभयो । पाँच वर्षे कार्यकालमा आयोगको स्तर वृद्धि गरिएको उल्लेख गर्दै उहाँले हालको कार्यशैलीले समाजमा सुशासनप्रति आशा जगाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सुशासनको लागी हामी काम गर्दै आईरहेको छौँ । ऐन, नियम, कानून अनुसार भ्रष्टाचार नियन्त्रणको काम गर्दै आएका छौँ । हामीले जनशक्ति थप्यौ, काम गर्ने तरिकाहरु हामीले बदल्यौँ, प्रविधिहरु पनि फेरि बढ्दै गएको छ । सोही अनुसार भ्रष्टाचारको प्रवृत्तिहरु पनि बढ्दै गएको छ । भ्रष्टाचारको अवस्था झन जटिल र कठिन बन्दै गएको छ । त्यसैले हामीले अझै सशक्त ढंगले बढ्नुपर्ने अवस्था देखिएको छ । हाम्रो मुख्य काम सुशासन कायम गर्नु नै हो । सुशासन कायम गर्ने कुरामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग एक्लैले गर्ने होइन । यसमा सबैको सहयोग आवश्यक छ, सुशासन कायम गर्ने दायित्व नागरिक समाज, सञ्चारजगत सबैको हो ।
"स्थानीय, प्रदेश, संघिय सरकार सबैको जिम्मेवारी र जवाफदेहिता हो । तर पनि द्धन्दात्मक रुपमा हामीले अन्तिम अस्त्रको रुपमा हामी प्रयोग हुन्छौँ । हामीले काम कारबाही गरिहेका छौँ । यही हिसावमा हामी सुशासन कायम गर्न तल्लिन रहनुपर्छ । अहिले हामीले जुन हिसाबले काम गरिरहेका छौँ, त्यसबाट समाजमा आशा जगाएको छ, " उहाँले थप्नुभयाे ।
आयोगले स्थापना दिवसको अवसर पारेर नेपाल प्रहरी, आयोगका कर्मचारी तथा सञ्चारकर्मीलाई सम्मान गरेको छ । आयोगले न्युज एजेन्सी नेपाललाई पनि सम्मान गरेको छ । आयोगले उत्कृष्ट अख्तियार सेवा पुरस्कार र उत्कृष्ट अनुसन्धान अख्तियार पुरस्कार भने माघ २८ गते स्थापना दिवसको मुल समारोह समितिमा वितरण गर्ने प्रमुख आयुक्त राईले जानकारी दिनुभयो ।