काठमाडौँ, माघ २६ गते । नेपालमा एक महिना नपुग्दै १७ जना नवजात शिशुको मृत्यु भएको तथ्याङ्कले देखाएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको बहुसूचक सर्वेक्षणले २०८१÷८२ ले प्रति हजार जीवित जन्मेका नवजात शिशुमध्ये एक महिना उमेर नपुग्दै १७ जना नवजात शिशुको मृत्यु भएको देखाएको हो ।
सर्वेक्षणको प्रतिवेदन अनुसार प्रति एक हजार जीवित जन्मेका शिशुमध्ये एक वर्ष उमेर नपुग्दै २७ जना शिशु मृत्यु रहेको देखिन्छ ।
त्यसैगरी पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर (बालमृत्यु दर) प्रति हजार जीवित जन्मेका बालबालिकामा ३१ जना रहेको छ।प्रदेश अनुसार नवजात शिशु दर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा प्रति एक हजार जन्ममा २६ जना छ भने सबैभन्दा कम बागमती प्रदेशमा १० जना रहेका छन् ।
प्रति एक हजार जन्ममा सबैभन्दा बढी शिशुमृत्यु दर ३८ जना सुदूरपश्चिम प्रदेशमा छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा २० जना रहेको तथ्याङ्कले देखाएको छ।