नागेन्द्रकुमार कर्ण
महोत्तरी, माघ २६ गते । महोत्तरी जिल्लाको आठ पालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोप दिन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय महोत्तरीले जिल्लाको जलेश्वर, मटिहानी, मनरासिश्वा, लोहारपट्टी नगरपालिका तथा पिपरा, सम्सी, महोत्तरी, एकडारा गाउँपालिका गरी आठ पालिकामा एचपिभी खोप दिन सुरु गरिएको जनाएको छ ।
स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नवलकिशोर साहले जिल्लामा रहेको १५ पालिकामा दुई चरणमा एचपिभी खोप दिइने जानकारी दिनुहुदै पहिलो चरणको खोप अभियान आइतबारदेखि सुरु भइसकेको बताउनुभयो । उहाँले बाँकी रहेको नौ पालिकामा फागुन १ गतेदेखि फागुन ५ गतेसम्म दोश्रो चरणमा यो खोपको सुरुवात गरिने बताउनुभयो ।
उहाँले कक्षा ६ मा अध्ययन गर्ने छात्रा र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेरका किशोरीहरुलाई लक्षित गरि एचपिभी खोप आईतबारदेखि लगाउन सुरु गरिएको बताउनुहुँदै यो नियमित तथा छुट भएका दुवैको लागि भएको बताउनुभयो ।
स्वास्थ्य कार्यालयका कोल्डचेन निरिक्षक रामगणेश ठाकुरले पाठेघरको मुखमा हुने क्यान्सरबाट वचावको लागि यो खोप उपयुक्त भएकोले नियमित रुपमा यो खोप लगाउन सुरु गरिएको बताउनुभयो । उहाँले विगतमा छुट भएका किशोरीहरुलाई समेत खोप लिन आग्रह गर्नुभयो । छात्राहरुलाई विद्यालयमै पुगेर र विद्यालय बाहिर रहेका किशोरीलाई समुदायस्तरको खोप केन्द्रमा भेला पारेर खोप लगाइने छ ।
अहिले जिल्लामा नियमित तर्फ ६ हजार ३४२ जना छात्रा तथा छुट भएका किशोरीहरुको लागि हजार भाइल खोप आएको जानकारी दिनुभयो ।
गतवर्ष स्वास्थ्य कार्यालयले जिल्लामा ४५ हजार ४ सय ६४ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने लक्ष्य लिएपनि ११ हजार ७३७ जनाले मात्रै खोप लगाएका थिए । कक्षा ६ देखि कक्षा १० सम्मका छात्राहरुलाई तथा बिद्यालय नजाने १० बर्ष देखि १४ बर्ष सम्मको किशोरीहरुलाई एचपिभी खोप लगाइने गरिएको छ।
जिल्लाको १५ वटै पालिकाको कक्षा ६ देखि कक्षा १० सम्ममा अध्ययनरत ९ हजार २९७ छात्रा तथा विद्यालय बाहिर रहेका १४ उमेरका २ हजार ४४० किशोरीहरुलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको कार्यालयको तथ्याँक रहेको छ । जिल्लामा सबभन्दा बढी भंगहा नगरपालिकामा तथा सबभन्दा कम पिपरा गाउँपालिकाका छात्रा तथा किशोरीहरुलाई यो खोप लगाइएको थियो ।
महिलाहरुमा हुने विभिन्न प्रकारका क्यान्सरहरु मध्ये पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सरको रुपमा रहेको छ ।