• २६ माघ २०८२, सोमबार

झापामा मतदानस्थलको अनुगमन सुरु

blog

बिष्णुप्रसाद पोखरेल

दमक, माघ २६ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापामा मतदान केन्द्र तथा स्थलहरूको संयुक्त अनुगमन सुरु भएको छ । 

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, झापाका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइटेल लगायत जिल्लाका सुरक्षा निकायका प्रमुखहरु सहितको टोलीले मतदानस्थलहरुको अनुगमन सुरु गरेको हो ।

निर्वाचनलाई भयरहित, शान्त र निष्पक्ष वातावरणमा सम्पन्न गर्नका लागि जिल्लाका मतदान स्थलहरूलाई तीन तहमा वर्गीकरण गरिएको र त्यसै अनुसार सुरक्षा व्यवस्था मिलाइने प्रमुख जिल्ला अधिकारी गेलालले जनाउनुभयो । प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालका अनुसार ५ निर्वाचन क्षेत्र रहेको झापामा २८५ मतदान स्थल रहेका छन् ।

मतदान स्थलहरुलाई सुरक्षाको हिसावले पनि वर्गिकरण गरिएको छ । गेलालका अनुसार ९५ वटा मतदान स्थललाई अतिसंवेदनशील, १४७ वटा संवेदनशील र ४३ वटा मतदान स्थललाई सामान्य रूपमा वर्गीकृत गरिएको छ । झापालाई अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट पनि धेरै नै नियालेकाले त्यसै अनुसारको तयारी रहेको बताइएको छ ।

जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालका अनुसार २८५ मतदान स्थलमा ८१५ वटा मतदान केन्द्र रहेकाछन् ।  जिल्लाभर सात लाख १३ हजार ५३७ मतदाता रहेका छन् । झापामा निर्वाचनले मतदाता, राजनीतिक दल तथा उम्मेद्वारहरुमा उत्साह देखिएको बताइएको छ ।