• २६ माघ २०८२, सोमबार

तस्कर समूहको आक्रमणबाट तीन प्रहरी घाइते

blog

तस्कर समूहको ढुङ्गामुढा प्रहारबाट क्षति भएको गाडी । तस्बिर : सशस्त्र प्रहरी

काठमाडौँ, माघ २६ गते । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपले गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको हो । 

सशस्त्र प्रहरी बल नेपाल नं‍ १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार बिहान गोदाममा छापा मारेर अवैध रूपमा भण्डार गरी राखेको ७ लाख मूल्य बढीको कपडा बरामद गरेको छ । 

सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार कपडा बरामदपछि तस्कर समूह आक्रमणमा उत्रिएका थिए । तस्कर समूहको ढुङ्गामुढा प्रहारबाट सशस्त्र प्रहरी बल नेपालको एउटा वानटन र एउटा स्कार्पियो गाडीमा समेत क्षति पुगेको छ भने ३ जना सशस्त्र प्रहरी घाइते भएका छन् । बरामद सामान सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ । 

 ७१ लाख रुपियाँ बराबरको सामान बरामद

आज छापा मारिएको गोदामका संचालक मदन प्रसाद गुप्ताले अबैध रुपमा बिरगंज बाट पोखरा पठाउन लागेको ७१ लाख रुपैयाँ बराबरको हार्डवेयरको सामान बोकेको ट्रक सशस्त्र प्रहरिले हिजो माघ २५ गते नियन्त्रणमा लिएको थियो । 

 ना ३ ख ५०५२ नम्बरको ट्रकमा भिसिटिएस बिल बिनाको सामान  सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म बिरगंजले बिरगंज महानगरपालिका (१४ स्थित पिपरा चोक बाट नियन्त्रणमा लिएर आबश्यक  अनुसन्धान तथा कारबाहीको लागि रातिनै राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको थियो । सोही आधारमा उनले संचालन गरेको अबैध गोदाममा समेत भन्सार छलिको सामान रहेको सुचनाको आधारमा २६ गते बिहान छापा हानिएको हो । 

सोही क्रममा तस्कर समुहले सशस्त्र प्रहरी माथि आक्रमण गरेका थिए । आज बरामद गरिएको सामानमा कुर्ता सुरुवाल र साडी रहेको छ । बरामद सामानको १२ लाख ७२ हजार मूल्य कायम गरेर आबश्यक कारबाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।