काठमाडौँ, माघ २६ गते । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस विरुद्धको’ (एचपिभी)खोप कार्यक्रम हिमाली जिल्लाहरुमा चैत वैशाखमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख डा.अभियान गौतमले अत्याधिक चिसो तथा हिमपातका कारण केही हिमाली जिल्लाहरुमा एचपिभी खोप कार्यक्रम चैत वैशाखमा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार चैत र वैशाखमा खोप कार्यक्रम सञ्चालन हुने हिमाली जिल्लामा मुगु, डोल्पा, हुम्ला, मनाङ, मुस्ताङ गरी पाँचवटा रहेका छन् । उहाँ भन्नुहुन्छ,“ मुगु, डोल्पा, हुम्ला, मनाङ, मुस्ताङ गरी पाँचवटा हिमाली जिल्लामा चैत र वैशाखमा खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ । तर, यी जिल्लाका केही स्थानीय तहले भने मौसम सहजता भएसँगै खोप कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।”
सरकारले देशभर यही माघ २५ गतेबाट फागुन १५ गतेसम्म देशव्यापी रुपमा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप कार्यक्रम सञ्चालन गरिरहेको छ ।खोप सेवा सञ्चालन हुने मिति र समय स्थानीय तह अनुसार फरक हुन सक्ने भएकाले आआफ्नो विद्यालय वा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी खोप लगाउन खोप शाखाका प्रमुख डा.गौतमको अनुरोध छ ।
सरकारले नियमित खोप कार्यक्रम अन्तर्गत कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा कुनै कारणबस विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीलाई एचपिभी खोप दिइदैछ ।
साथै गत वर्ष सञ्चालन भएको एचपिभी खोप अभियानमा खोप लगाउन छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्राहरू तथा विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई पनि यो वर्ष अन्तिम मौकाका रुपमा दिइने उहाँको भनाइ छ ।
यो खोप मुख्यत विद्यालय केन्द्रित खोप केन्द्रबाट दिइने छ । उहाँका अनुसार यो वर्ष करिब तीन लाख ४५ हजार भन्दा बढी किशोरीलाई एचपिभी खोप दिइनेछ ।
यो खोप निःशुल्क हुनुका साथै सुरक्षित र जीवन रक्षक भएकाले ढुक्क भएर खोप लगाउन उहाँको सुझाव छ । खोप विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गुणस्तर सुनिश्चित गर्नुका साथै औषधी व्यवस्था विभागबाट समेत अनुमति प्राप्त गरेको खोप हो।
गत वर्ष खोप अभियान मार्फत करिब १६ लाख किशोरीले खोप लगाएका थिए।