• २६ माघ २०८२, सोमबार

चितवनमा पहिलो पटक सालक सम्मेलन

blog

चितवनको माडीमा सुरुभएको सालक सम्मेलन ।

अनिल पराजुली    

हेटौँडा, माघ २६ गते । चितवनको माडीमा नेपालमै पहिलो पटक सालक सम्मेलन सुरू भएको छ । बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन कार्यालय चितवनको संयोजनमा सोमबार बिहानदेखि सालक सम्मेलन सुरू भएको हो ।

सालक सम्मेलनको बागमती प्रदेश वन तथा वातावरणमन्त्री भरत केसीले उद्घाटन गर्नुभयो । सम्मेलनमा बागमती प्रदेशका डिभिजन वन कार्यालय प्रमुखहरू, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, चितवन राष्ट्रिय निकुञ्ज, जिल्लाको सामुदायिक वनका प्रतिनिधि र संरक्षणकर्मीको सहभागिता छ।

सम्मेलनमा संरक्षित वन्यजन्तु सालकको अहिलेको अवस्था, संरक्षण गर्नुपर्ने कारण, चुनौतीलगायतका विषयमा छलफल भइरहेको डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यले जनाकारी दिनुभयो ।

संरक्षणमा हातेमालो गर्ने विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू, विज्ञसहित २०० भन्दा बढीको सहभागितामा सालक सम्मेलन गरिएको छ। सम्मेलनमा सालकको अहिलेको अवस्था, संरक्षणमा देखिएका चुनौती र भावि कार्यदिशाका विषयमा छलफल गरिने बताइएको छ । छलफलसँगै सालक संरक्षणका लागि माडी घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न हुने छ।

सालक लोपोन्मुख वन्यजन्तु हो । यो जनावर प्रायः नेपाल, भारत, चीन लगायतका दक्षीण एसियाली राष्ट्रहरू तथा अफ्रिकाका उष्ण भूभागमा पाइन्छ । अति लजालु, संवेदनशील एवं शान्त वातावरणमा बस्न रुचाउने सालकले मानिसलाई कुनै क्षति गर्दैन । सालक किसानको साथीको रूपमा पनि परिचित छ ।  सालकले धमिरा र कमिला खान्छ ।