• २६ माघ २०८२, सोमबार

पुल बन्न नसकेको प्रति मतदाताको गुनासो

blog

जीर्ण अवस्थामा रहेको रेप्का पुल । तस्बिरः तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास (गुल्मी), माघ २६ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरू यतिबेला मत माग्न घर–घरमा पुगिरहेका छन् । मतदाताहरूलाई भने दैनिक रूपमा आवत–जावत गर्ने पुलको चिन्ताले सताइरहेको छ । 

गुल्मी क्षेत्र नम्बर १ को कालीगण्डकी गाउँपालिका १ गुल्मी र कालीगण्डकी गाउँपालिका स्याङजा ७ जोडने मोटरेवल पुल एक दशकदेखि जीर्ण हुदाँ नयाँ पुल निर्माणको माग मतदाताहरूको छ । 

कालीगण्डकी गाउँपालिका हर्मिचौर १ का स्थानीय पुरुषोत्तम पाण्डेले आफूहरूलाई नेताभन्दा पनि दैनिक रूपमा प्रयोग भएर आवत–जावत गर्ने पुलको चिन्ता भएको बताउनुभयो । उहाँले एक दशकदेखि पुल जीर्ण हुँदा पनि नयाँ पुल निर्माणका लागि कसैले पहल नगरेकोमा दुःख लागेको बताउनुभयो । 

यस्तै, सोही पुल भएर दैनिक रूपमा आवत–जावत गर्ने सवारी चालक गगन तरामुले पनि लामो समयदेखि जीर्ण पुलबाट आवत–जावत गर्नु दुःखद भएको बताउनुभयो । आवश्यकता नभएको  स्थानमा पनि नेताको पहुँचको आधारमा पुल बन्ने र प्रयोग नहुने गरेका उदाहरण प्रस्तुत गर्दै उहाँले यस क्षेत्रले विकासप्रेमी नेता नपाएको गुनासो गर्नुभयो ।

कालीगण्डकी नदीले पुलको पिलरहरूमा कटान गर्दै लगेपछि पुल जीर्ण बन्दैगएको हो ।  बुटवल र पोखरादेखि गुल्मीको पुर्तिघाट र बाग्लुङसम्म जाने सवारी साधनहरूले सो पुलको प्रयोग गर्दैआएका छन् । दैनिक रूपमा यस पुल भएर सयौँ सवारी आवत–जावत गर्ने स्थानमा पनि नेताहरूको नजर नपुग्नु आफूहरूका लागि बिडम्वना भएको सवारी धनि र चालकहरूले गुनासो गर्नेगरेका छन् । यस क्षेत्रबाट केन्द्रियस्तरमा राम्रो पहुँच भएका नेताहरूले स्थानीय स्तरको विकासमा ध्यान नदिएको स्थानीयको गुनासो छ । 

गण्डकी प्रदेशको स्याङजाको कालीगण्डकी गाउँपालिका–७, मिर्मी र लुम्बिनी प्रदेशको गुल्मीको कालीगण्डकी गाउँपालिका वडा १ हर्मिचौर जोडने रेप्कामा रहेको मोटरेबल पुल २०५२ सालमा निर्माण गरिएको थियो । कालीगण्डकी जलविद्युत् परियोजना ए निर्माणको क्रममा हर्मिचौर र मिर्मीलाई जोडने गरी कालीगण्डकी नदीको रेप्कामा इटालीयन सरकारले निर्माण गरिदिएको पुल  एक दशकदेखि  जीर्ण बन्दैगएको छ । 

कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष वेदबहादुर थापाले जीर्ण बन्दैगएको मोटरेबल पुलको ठाउँमा नयाँ पुल निर्माणका लागि स्थानीय सरकारको पहल गरे पनि केन्द्रमा पहुँच नपुगेका कारण परिणाम देखिन नसकेको बताउनुभयो । 

आफू निर्वाचित भएदेखि नै आफूले सो पुलका लागि पहल गर्दैआएको दाबी गर्दै नयाँ पक्की पुल निर्माणका लागि सडक विभागमा धाइरहँदा पनि पुल निर्माणको कार्यले सार्थकता पाउन नसकेको उहाँको भनाइ छ । 

यस क्षेत्रबाट उम्मेदवार बनेका नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टीलगायतले स्थानीय विकासलाई प्राथमिकता दिने बताएका छन् ।