भुवन कार्की
रूपन्देही, माघ २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फागुन २१ गते आफ्नो पार्टीले बहुमत ल्याएर पहिलो इतिहास रच्ने बताउनुभएको छ । सोमबार रूपन्देहीको क्षेत्र नं. १ अन्तरगत देवदहमा कार्यकर्ता भेटघाट कार्यक्रममा लामिछानेले यसपटक रास्वपाका उम्मेदवारहरू बहुमतका साथ बिजय हुने दाबी गर्नुभयो ।
छोटो मन्तव्य राख्दै सभापति लामिछानेले पुराना दलले पटक–पटक निर्वाचन जितेर गर्न नसकेका काम रास्वपाले गरेर देखाउने उद्घोष गर्नुभयो । उहाँ भन्नुभयो, ‘‘पुरानाले घेरै पटक जितर केवल आवश्वासन बाँडे तर हामीले काम गरेर देखाउने छौं, देशमा केही नयाँ गरेर देखाउने छौं, त्यसका लागि हाम्रा उम्मेदवारलाई जिताउनुहोला ।’’ फागुन २१ गते देश घण्टीमय हुने जिकिर गर्दै सभापति लमिछानेले हरेक निर्वाचन क्षेत्रमा फरक फरक खालका समस्या रहेकाले समाधानका लागि रास्वपाका उम्मेदवारहरू सक्षम रहेको बताउनुभयो ।
सोमबार रूपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा लामिछानेले कार्यकर्ता तथा मतदाता भेट्ने कार्यक्रम रहेको रास्वपा नेता मधु अर्यालले जानकारी दिनुभयो । लामिछानेले बुटवल, भैरहवा, तिलोत्तमा, सैनामैना लगायतका ठाउँमा पुग्ने पार्टीले जनाएको छ । देवदहको कार्यक्रममा रूपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालसहित पार्टी कार्यकर्ताको भिड लागेको थियो ।