केशवराज भट्ट
वाशुलिङ बैतडी, माघ २६ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै बैतडीमा मतदान स्थलको निरीक्षण कार्य भइरहेको छ ।
जिल्ला सुरक्षा समितिको तर्फबाट मतदान स्थल निरीक्षण भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभयो । सुरक्षाको दृष्टिकोणले बैतडीका एक सय २९ मतदान स्थलमध्ये ३३ वटा अतिसंवेदनशीलको सूचीमा रहेका छन् । यस्तै, २८ वटा मतदान स्थल संवेदनशील र ६८ वटा मतदान स्थल सामान्य सूचीमा परेका छन् ।
अतिसंवेदनशील मतदान स्थललाई प्राथमिकतामा राखेर अनुगमन तथा निरीक्षणको काम भइरहेको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो । निरीक्षणका क्रममा मतदान स्थलको अवस्था, सुरक्षा व्यवस्था र भौतिक पूर्वाधारको अवलोकन गर्नुका साथै स्थानीय जनप्रतिनिधि, नागरिक अगुवा लगायतसँग छलफल गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।
निर्वाचनका बेला खटिने कर्मचारीको आवास सुविधा, विद्युत्, खानेपानी लगायत आधारभूत कुराको उपलब्धतासम्बन्धी अवस्थाको पनि निरीक्षण भइरहेको बताइएको छ । कतिपय मतदान स्थल तथा केन्द्रमा सिसिटीभी क्यामेराको व्यवस्था आवश्यक देखिएकाले त्यसको व्यवस्थापनका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो ।
जिल्लामा एक सय २९ मतदान स्थलमा दुई सय १४ मतदान केन्द्र रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार बैतडीमा एक लाख ५६ हजार तीन सय ७२ जना मतदाता रहेका छन् ।