• २६ माघ २०८२, सोमबार

बस्तीबाट उद्धार गरिएको पोथी भालुलाई प्राकृतिक बासस्थानमा छोडियो

blog

मुस्ताङको घरपझोङ गाउँपालिका–१ चिमाङमा उद्धार गरिएको हिमाली कालो भालुको बच्चालाई छोडिएको छ । तस्बिर : एक्याप जोमसोम

हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), माघ २६ गते । 
मुस्ताङको घरपझोङ गाउँपालिका–१ चिमाङमा उद्धार गरिएको हिमाली कालो भालुको बच्चालाई छोडिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमको टोलीले स्थानीयवासीको सूचनाको आधारमा उद्धार गरी स्वास्थ्य परीक्षण, आहारा खुवाएर चिमाङको प्राकृतिक वासस्थानमा छोडिएको हो ।

आहाराको खोजीमा बस्तीभित्र छिरेको अन्दाजी ८ महिनाको पोथी बच्चालाई गाउँ आसपासमा धेरै भालु भेटिएको स्थानमा छोडिएको एक्याप जोमसोमका प्रमुख राजेश गुप्ताले बताउनुभयो ।

प्रमुख गुप्ताले भन्नुभयो, ‘‘माउबाट छुटिएपछि आहाराको खोजीमा बस्तीमा प्रवेश गरेको देखिन्छ, स्थानीयको सूचनाका कारण कुनै चोटपटक छैन ।’’ यो समयमा आमाको दुध छोडेपछि आहाराको खोजीमा खोज्दै हिँड्ने भएकाले बस्ती क्षेत्रमा भेटिन सक्ने प्रमुख गुप्ताको भनाइ छ । चिमाङ गाउँका संजोग थकालीको घरछेउमा रहेको स्याउ स्टोरको स्याउ खाइरहेको अवस्थामा भेटिएको थियो ।

खेतबारीमा भालुले प्रयोग गर्ने कृषिउपजको उत्पादन नहुने भएकाले जङ्गलमा भएको निगालोको टुसा लगायत अन्य आहारा नपाएपछि बस्तीमा प्रवेशको जोखिम हुन्छ।उद्धार गरिएको पोथी भालु आफैं आहाराको खोजी गरी बाच्न सक्ने अवस्थामा देखिएकाले बासस्थानमा छोडिएको एक्यापले जनाएको छ । एउटा स्थानबाट उद्धार गरिएको भालुलाई अर्को स्थानमा छोड्दा समस्या हुन्छ । हिमाली कालो भालुको समुद्री सहतको दुई हजारदेखि चार हजारभन्दा माथिको उचाइमा बासस्थान हुन्छ ।

यस गाउँमा खेतीयोग्य जमिनमा भालुको आतङ्क रोक्न तीन किलोमिटरमा करिब ५ सय रोपनी क्षेत्रफलमा विद्युतीय तारबार गरिएको भए पनि समय–समयमा सर्ट हुँदा जङ्गली जनावर खेतबारी तथा बस्तीमा प्रवेश गर्ने संरक्षण क्षेत्र व्यवस्थापन समिति टुकुचेअन्तर्गत वन व्यवस्थापन उपसमिति चिमाङका सचिव बिबेक विकले बताउनुभयो । भालुको आतङ्क रोक्न खेतबारीमै कुरुवा राख्न समेत एक्यापले स्थानीयलाई सहयोग गर्ने गरेको छ । मुस्ताङको घरपझोङ र थासाङ गाउँपालिकामा हिमाली कालो भालुको आतङ्कबाट स्थानीय कृषक हैरानीमा छन् । एक्यापले कालो भालुपीडित किसान घरधुरीलाई क्षति राहत समेत दिने गरेको छ ।