• २६ माघ २०८२, सोमबार

प्रतिबद्धता व्यक्त गर्दै उम्मेदवार

blog

प्रतिबद्धतापत्र सार्वजनिक गर्नुहुँदै नेकपा (एमाले) का उम्मेदवार द्वारिकाप्रसाद न्यौपाने । तस्बिर : एकिन्द्र तिमिल्सेना

टीकापुर समाचारदाता

टीकापुर, माघ २६ गते । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारले मतदातासमक्ष प्रतिबद्धता व्यक्त गर्न थालेका छन् । 

आइतबार नेकपा (एमाले) कैलाली क्षेत्र नं. १ का उम्मेदवार द्वारिकाप्रसाद न्यौपानले पत्रकार सम्मेलन गरेर आगामी पाँच वर्षमा गर्न सकिने पाँच वटा प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । सहरी विकास, सडक र सुरक्षा अन्तर्गत कर्णाली नदी नियन्त्रणका लागि तटबन्धको पूर्णता, किनारमा दुई लाइनको बाटो, बाटोको पूर्वमा पर्ने नदीमा जलविहार खेलकुद, पश्चिममा पर्ने जङ्गलमा जडीबुटी तथा फलफूल खेती विकासको अवधारणा ल्याउनुभएको छ । निर्वाचन क्षेत्रका चार वटा पालिका जोड्ने चक्रपथ विस्तार गर्ने, टीकापुर नगरपालिका–७ स्थित दुर्लभ जलचर डल्फिनको वासस्थान पथरैया–काँडा नदी दोभानमा झोलुङ्गे पुल निर्माण गरी दुई पालिकाका तीन वटा वडा जोड्ने, गाउँपालिकाका केन्द्रलाई सहरका रूपमा विकास गर्ने, सबै नागरिकका घरसम्म सहरी सुविधा पु¥याउने बताउनुभएको छ । 

कृषि, भूमि र उद्योगतर्फ रानीजमरा सिँचाइको कमान्ड क्षेत्रको जमिन खण्डीकरण रोक्ने, अधुरा काम पूरा गर्न लगाउने, कृषि भूमिको कर घटाउन पहल गर्ने, केरा, बेतबाँसलक्षित उद्योग प्रवर्धन गर्ने, काँडा, कर्णालीमा झोलुङ्गे पुल हाल्ने प्रतिबद्धता जनाउनुभएको छ । 

संस्कृति, पर्यटनतर्फ टीकापुर पार्कलाई १३ बिघाबाट ८४ बिघा क्षेत्रमा विस्तार गर्ने, पद्मप्रकाशेश्वर मन्दिरलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय शैवधाम विकास गर्ने, थारू धर्म संस्कृतिसँग जोडिएका क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने पनि बताउनुभएको छ । 

निर्वाचन क्षेत्रमा सचिवालय राख्ने, हरेक वर्षको फागुनमा तिनै तहका जनप्रतिनिधि र  नागरिक अगुवासँग बसेर योजना बनाउने पनि प्रतिबद्धता जनाउनुभएको छ । व्यवस्थापनमा स्नातकोत्तर न्यौपाने ऊर्जा प्रवर्धक हुनुहुन्छ । उहाँले आफू निर्वाचित भएमा राज्यका तर्फबाट पाउने सबै सुविधा मावि तहमा अध्ययनरत विपन्न नागरिकका सन्तानका शिक्षामा खर्च गर्ने प्रतिबद्धता जनाउनुभएको छ । 

नेपाली कांग्रेसले प्रतिबद्धतापत्र तयारी गरिरहेको क्षेत्रीय सभापति प्रकाश शाहले बताउनुभयो । यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामलाल डगौराथारूले स्थानीय प्रतिबद्धता तयार भइरहेको र केन्द्रको घोषणापत्रको मसौदा आउनेबित्तिकै सार्वजनिक गरिने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका दलका उम्मेदवारले पनि प्रतिबद्धता तयारी गरिरहेको ती दलका कार्यकर्ताले जानकारी दिएका छन् ।