बेलौरी समाचारदाता
बेलौरी (कञ्चनपुर), माघ २६ गते । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्न कञ्चनपुरमा तीन हजारभन्दा बढी अस्थायी मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार अस्थायी मतदाताको विवरण सङ्कलन गरेर शनिबार अन्तिम नामावली प्रकाशित गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिशचन्द्र जोशीले कञ्चनपुरमा हालसम्म सङ्कलन गरिएको सङ्ख्या अनुसार तीन हजार ३०९ जना अस्थायी मतदाता रहेका छन् । शनिबार उनीहरूको अन्तिम नामावली प्रकाशित गरिएको उहाँले बताउनुभयो ।
जिल्लामा रहेका सबै सरकारी कर्मचारी, संस्थानका कर्मचारी, सुरक्षाकर्मी, कारागारमा रहेका कैदीबन्दीको विवरण सङ्कलन गरेर नामावली प्रकाशित गरिने कार्यालय प्रमुख जोशीले बताउनुभयो । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रकाशित नामावली अनुसार जिल्लास्थित ५० सरकारी कार्यालयका ७४५ जना कर्मचारी, संस्थान र बैँक गरेर सात कार्यालयबाट १३२ जना, नौ वटै स्थानीय तहबाट एक हजार १७७ जना, प्रावि शिक्षक २८६ जना, ८२६ सुरक्षाकर्मी, १२२ जना निर्वाचन प्रहरी र २१ जना कारागारका कैदी गरेर तीन हजार ३०९ जना अस्थायी मतदाता छन् ।
यसअघि निर्वाचन कार्यालयले विभिन्न निकायसँग अस्थायी मतदाताको सङ्ख्या र नामावली माग गरेको थियो ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराका अनुसार, अस्थायी मतदाताका लागि कति वटा र कुन कुन ठाउँमा अस्थायी मतदान केन्द्र राख्नेबारेमा पनि छलफल भइरहेको छ । यद्यपि कारागारका २१ कैदी मतदाताको हकमा कारागारमा र निर्वाचनमा खटिएका सुरक्षाकर्मीले सोही मतदान केन्द्रमा मत खसाल्ने व्यवस्था मिलाइने सूचना अधिकारी महराले बताउनुभयो ।
सूचना अधिकारी महराले आगामी निर्वाचनका लागि जिल्लामा एक तेस्रो लिङ्गीसहित एक लाख ६० हजार ३१६ महिला र एक लाख ५४ हजार ६८ पुरुष गरेर तीन लाख १४ हजार ३८५ मतदाता पुगेका बताउनुभयो । कञ्चनपुरका तीन निर्वाचन क्षेत्रमा १३२ मतदान स्थल र ३६० मतदान केन्द्र तोकिएको उहाँले बताउनुभयो ।
जिल्ला सुरक्षा समिति कञ्चनपुरका अनुसार जिल्लाका नौ वटा पालिकामा कायम गरिएका १३२ वटा मतदान स्थलमध्ये ६६ वटा अति संवेदनशील, ४० वटा मतदान स्थललाई संवेदनशील तथा २६ मतदान स्थललाई सामान्य तोकेर सोहीबमोजिमको सुरक्षा प्रबन्ध मिलाइँदै छ । त्यसै गरेर ३६० मतदान केन्द्रमध्ये १९२ अति संवेदनशील, ११९ संवेदनशील र ४९ सामान्य मतदान केन्द्र तोकिएका छन् ।