• २६ माघ २०८२, सोमबार

पुरानै दलबिच प्रतिस्पर्धा

blog

वासुदेव शर्मा 

जाजरकोट, माघ २६ गते । नेपाली कांग्रेसको तेस्रो पुस्ताका नेता खड्गबहादुर बुढा दोस्रो पुस्ताका नेतासँग चुनावी मैदानमा उत्रिनुभएको छ । दोस्रो पुस्ताका मानिने नेकपाका नेता शक्तिबहादुर बस्नेत र नेकपा (एमाले) का डम्बरबहादुर सिंहसँग बुढा चुनावी मैदानमा उत्रिनुभएको हो । 

तत्कालीन नेकपा (माओवादी केन्द्र) का तर्फबाट २०७० सालदेखि निरन्तर निर्वाचनमा विजय प्राप्त गर्दै आएका नेकपाका उपमहासचिव शक्तिबहादुर बस्नेतले विभिन्न मन्त्रालयको जिम्मेवारी समालिसक्नुभएको छ । 

नेपाली कांग्रेसका तर्फबाट खड्गबहादुर बुढा उम्मेदवार बन्नुभएको छ । नेकपा (एमाले) बाट उम्मेदवार बनेका डम्बरबहादुर सिंह पटक पटक चुनाव लडेर पराजित हुनुभएको छ । उहाँ नेकपा (एमाले) का केन्द्रीय सदस्य हुनुहुन्छ । दुई ठुला नेताबिच कांग्रेस जिल्ला कार्यसमितिका उपसभापति बुढाले प्रतिस्पर्धा गर्नुभएको छ । नेकपाका उम्मेदवार बस्नेतले पटक पटक अवसर पाए पनि जिल्लाको विकासमा ध्यान नदिएको जनगुनासो छ ।  

नेपाली कांग्रेस, एमाले, नेकपाका उम्मेदवारसहित नेता कार्यकर्ता जनताका घरदैलोमा व्यस्त छन् । गाउँमा अगुवा कार्यकर्ता भेटघाट तथा आफ्नो पल्ला भारी बनाउन गाउँबस्तीका कुना कुनामा पुगेका छन् । उनीहरूलाई यतिबेलाको निर्वाचन परीक्षाको घडी भएको छ । नेकपा (एमाले) र नेपाली कांग्रेसको गठबन्धनबाट विगतका निर्वाचन सहज रूपमा हात पर्न सफल भएका बस्नेतलाई यतिबेलाको निर्वाचन सहज छैन । कांग्रेस नेता नगेन्द्र शाहले युवा, जेनजी, वृद्धवृद्धाको साथले आफ्नो उम्मेदवारले सहज रूपमा चुनाव जित्ने दाबी गर्नुभयो । 

विसं २०७९ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस र तत्कालीन माओवादीको गठबन्धनबाट ३४ हजार १५१ र नेकपा एमालेका उम्मेदवार नीरजप्रसाद आचार्यले २५ हजार १२० मत प्राप्त गर्नुभएको थियो । नेकपाका बस्नेतले पाउनुभएको मत कांग्रेस र नेकपाको हो ।