• २ असार २०८१, आइतबार

ज्यान हत्केलामा राखी साँघु वारपार

blog

मुदीबगरस्थित तातोपानी कुण्ड पुग्नका लागि म्याग्दी खोलामा बनाइएको काठको साँघु ।तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी (बेनी), साउन १ गते । विश्वको सातौँ अग्लो हिमाल धौलागिरि आरोहण तथा अवलोकन गर्न आउने पर्यटकहरूलाई झोलुङ्गे पुलको अभावमा ज्यान हत्केलामा राखी काठको जीर्ण र जोखिम साँघुबाट खोला वारपार गर्नुपर्ने बाध्यता छ । यहाँको पर्यटकीय पदमार्गअन्तर्गत धौलागिरि गाउँपालिका – ४ मुदीदेखि आधार शिविरसम्म करिब १५ स्थानमा झोलुङ्गे पुलको आवश्यकता देखिएको छ । म्याग्दी तथा यसका सहायक खोलामा स्थानीयले बनाएका काठे साँघुबाट खोला वारपार गर्नुपर्ने बाध्यता छ । 

धौलागिरि आधार शिविरअन्तर्गत इटाली बेस क्याम्पका होटल व्यावसायी हरिप्रसाद तिलिजा पदयात्रालाई सुरक्षित, सहज र व्यवस्थित बनाउन खोला नालामा पुल अनिवार्य भएको बताउनुहुन्छ । यस विषयमा सम्बन्धित निकायको पटक–पटक ध्यानाकर्षण गर्न मागपत्र नै पेस गरे पनि सुनुवाइ नै नभएको गुनासो उहाँको छ । भौगोलिक रूपमा कठिन भएकाले पनि पुल बनाउन सम्बन्धित निकायले चासो नदिएको हुनसक्ने अनुमान स्थानीयको छ । 

मुदीदेखि धौलागिरि बेस क्याम्पसम्म विभिन्न स्थानमा ठूला पाँच र साना १० वटा झोलुङ्गे पुलको आवश्यकता देखिन्छ । खोलामा पुल नहुँदा कतिपय पर्यटकहरू बीच बाटोबाटै फर्किने गरेका छन् । म्याग्दी खोलाको तिरमा अवस्थित तातोपानी कुण्डमा स्नान गर्न र धौलागिरि पदयात्रामा जानेहरू ज्यानै जोखिममा राखेर जीर्ण र मक्किएका काठको साँघुबाट वारपार गर्न बाध्य छन् । 

तातोपानी कुण्ड पुग्न मुदी बगरमा झोलुङ्गे पुलको माग भए पनि कहीँबाट सुनुवाइ नभएको मुदीका वडाध्यक्ष यामबहादुर घर्ती बताउनुहुन्छ । ‘राउन्ड धौलागिरि’ पदयात्रामा पुगेका सयौँ पर्यटक तातोपानी कुण्डमा पुगेर थकान मेटाउने इच्छा देखाउँछन् तर खोलामा झोलुङ्गे पुल नहुँदा कोही बीचबाटैबाट फर्किन्छन् त कोही जोखिम मोलेर भए पनि पुग्ने गर्छन् । 

पर्यटन व्यवसायी तिलिजाले भन्नुभयो, “सम्बन्धित निकायमा पुलका लागि धेरै पटक माग ग¥यौँ, अहिलेसम्म सुनुवाइ भएको छैन, जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता छ ।” म्याग्दी खोलाको पाँच स्थानमा पुल बनाउन सके धौलागिरि पदयात्रा सहज र सुरक्षित हुने थियो । 

हिमालबाट हिउँ पग्लिएर आउने यहाँका खोलाहरूमा पानीको बहाव बढी हुन्छ । खोला वारपार गर्न कठिन हुने गरेको बताइन्छ । पुल निर्माण गरी पदयात्रालाई सहज बनाउन सके राउण्ड धौलागिरिमा आउने पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ । 

स्थानीय तमबहादुर पुर्जा श्रमदान गरेर भए पनि पुल बनाउनै पर्ने बाध्यता आएको बताउनुहुन्छ । प्राकृतिक सुन्दरता तथा जैविक विविधताको अवलोकन र अध्ययनका लागि आउने पर्यटकका लागि राउण्ड धौलागिरि पदमार्ग सबैभन्दा आकर्षक गन्तव्यस्थल हो । धौलागिरि गाउँपालिकाका निवर्तमान अध्यक्ष थमसरा पुन सीमित स्रोतसाधनले पुल निर्माण गर्न सम्भव नभएकाले प्रदेश र सङ्घीय सरकारसँग बजेटको माग गरिएको बताउनुहुन्छ । 

धौलागिरि पदमार्गमा पर्ने रातो खोला, म्याग्दी खोला, झम्मरुकोट खोला, धाप्चा खोला, कैचीविरै खोला, तलित्रै खोला, हरथेवे खोला, ठाडोओडार खोला, चौरवन खोला, इटाली बेस क्याम्पको म्याग्दी खोला, स्विस क्याम्प खोला र जापानिज बेस क्याम्प नजिकको म्याग्दी खोला पुल हाल्नै पर्ने स्थानका रूपमा पहिचान गरिएको छ ।