• २ चैत २०८२, सोमबार

खाने तेल र ग्यासको कृत्रिम अभाव हुन नदिन अनुगमन

blog

सदरमुकाम बागलुङ बजारमा अनुगमन गरिदै । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, चैत २ गते । सदरमुकाम बागलुङ बजारमा खाने तेलको अभाव देखिएपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन थालेको छ । बजारमा तेल प्रशस्त भएर उपभोक्तामा नपुगेको हो वा नभएर अभाव भएको पत्ता लगाउन पसलमा अनुगमन गरिएको हो । 

जिल्ला प्रशासन, बागलुङ नगरपालिका, उपभोक्ता मञ्च, पत्रकार र अन्य सरोकारवाला निकायले बजार अनुगमन थालेका हुन् । बजारका केही ठूला गोदाममा गरिएको अनुगमनमा खाने तेल नियमित आएको र अभाव नभएको पत्ता लागेको छ । यद्यपि हरेक पटक तेल आउनेक्रममा धेरै थोरै मूल्यमा भने तलमाथि हुने गरेको पाइएको छ । 

सदरमुकामको शुक्लेश्वर स्टोर्स, प्रधान ब्रदर्श, महालक्ष्मी स्टोर्समा भित्राएको खाने तेलको मात्रा र बजारको खपतबारे जानकारी लिइएको जिल्ला प्रशासनका प्रशासकीय अधिकृत नारायण कार्कीले जानकारी दिनुभयो । 

‘‘बजारका ठुला स्टोरमा अनुगमन गर्दा अधिकांशमा पर्याप्त तेल रहेको पाइयो, तर आवस्यकताभन्दा बढी खोज्दा अभाव सिर्जना गरेको भेटियो’’ कार्कीले भन्नुभयो, ‘‘दुइचार पोका लैजानेहरुले कार्टुन लैजाँदा अभाव देखिएको अवस्था छ ।’’ समानुपातिक रुपमा वितरण गर्नसके बजारमा अभाव नदेखिने उहाँको भनाइ छ । 

केही समयअघि बजारमा एलपी ग्यास समेत अभाव भएको पाइएपछि प्रशासनले डिलरहरुमा खोजी अभियान थालेको थियो । ग्याँस पनि आवश्यकताभन्दा बढी राखेर उपभोक्ताले भण्डारण गर्दा बजारमा अभाव देखिएको कार्कीले बताउनुभयो । 

‘‘अब साँचिकै अभाव भयो भने प्रशासन र उपभोक्ता मञ्च मिलेर उपलब्ध गराउने, कृत्रिम समस्या देखाएको अध्ययन गरिने छ’’ उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले भन्नुभयो, ‘‘चुलो बल्नै छाडेकालाई ग्याँस उपलब्ध गराउन सकिने छ ।’’ निर्वाचन ताका केही अभाव भएको, यातायात रोकिंदा समयमा सामग्री नआएको व्यापारीको भनाइ छ । 

निर्वाचनपछि खाने तेल आइरहेकाले अभाव नहुने व्यवसायी बताउँछन् । ‘‘चुनावपछि पनि दुई खेप खाने तेल आइसकेको छ’’ शुक्लेश्वर स्टोर्सका प्रोपाइटर बाबुराम शर्माले भन्नुभयो, ‘‘अझै पनि स्टोरमा पर्याप्त तेल छ । मूल्य केही महंगो र सस्तो पर्ने क्रम चलिरहन्छ ।’’ उपभोक्ताले आत्तिएर धेरै खरिद गर्ने काम नगर्न शर्माको सुझाव छ ।

खानेतेल र एलपी पर्याप्त आइरहेकाले उपभोक्ताहरु डराउन नपर्ने देखिएको अनुगमन टोलीको निष्कर्ष छ । प्रशासनले एलपी ग्यासका उपभोक्तालाई आवश्यकताभन्दा बढी नराख्न आग्रह गरेको छ । अनुगमनको क्रममा कतिपय घरमा १० वटासम्म सिलिण्डर राखेको भेटिए पछि प्रशासनले जफत गरेको छ । जफत भएका सिलिण्डर स्टकमा राखेर अभाव पर्नेलाई वितरण गर्ने वातावरण मिलाउने प्रशासनको तयारी गरेको छ ।