• २ चैत २०८२, सोमबार

फोहोर पानी नहरमा मिसाउने उद्योगको स्थलगत अनुगमन

blog

फोहोर पानी र लेदो मिसिएको नहरको स्थलगत अनुगमन गर्दै गाउँपालिकाको टोली । तस्बिरः सिराज खान

सिराज खान

नेपालगन्ज, चैत २ गते । बाँकेको जानकी गाउँपालिका –६ गनापुरमा सञ्चालनमा रहेको शिव कत्था उद्योगबाट निस्किएको फोहोर पानी र लेदो नहरमा मिसिंदा आसपासका स्थानीयको स्वास्थ्यमा समस्या उत्पन्न भएको जनगुनासो आएपछि गाउँपालिकाका प्रतिनिधिहरुले स्थलगत अनुगमन गरेका छन् । 

कत्था उद्योगबाट निस्कने फोहोर पानी र लेदोलाई सोझै नहरमा मिसाइएको कारणले आसपासका बस्तीमा तीव्र दुर्गन्ध फैलिएर स्वास्थ्यमा असर परेको भन्दै स्थानीयले गुनासो गरेपछि गाउँपालिका अध्यक्ष छब्बन खाँको नेतृत्वमा उद्योग र नहरको स्थलगत अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ । 

अनुगमनको क्रममा उद्योगले प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) नगरेको र फोहोर पानी प्रशोधनका लागि आवश्यक ट्रिटमेन्ट प्लान्टसमेत नराखेको पाइएको गाउँपालिका अध्यक्ष खाँले बताउनुभयो । उहाँले उद्योगले पालिकाको निर्देशन अवज्ञा गरेमा वातावरण संरक्षण ऐन, २०७७ को दफा १३ (१) बमोजिम उद्योग सञ्चालनमा रोक लगाउने चेतावनी दिनुभयो । 

अनुगमनमा रहनुभएका वडा ५ का वडा अध्यक्ष टिकानाथ यादवले उद्योगले कच्चा पदार्थ प्रशोधनपछि निस्किने केमिकलयुक्त पानी सिधै सिक्टा नहरमा मिसाइँदा जानकी गाउँपालिका मात्र नभइ नेपालगन्ज आसपासका बस्तीसमेत प्रभावित भएको पाइएको बताउनुभयो । 

वडा नम्बर ६ का वडा अध्यक्ष जगदीशप्रसाद हरिजनले दुर्गन्धका कारण घरभित्र बस्नसमेत कठिन भएको पाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “दुर्गन्धले खाँदाखाँदैको खाना पनि छोड्नुपर्ने अवस्था देखिएको छ, घरमा बस्न र खेतबारीमा काम गर्न समस्या भएको छ ।” 

अनुगमन टोलीले उक्त उद्योगलाई नहरमा फोहोर पानी नखसाल्न आग्रह गरिएको समेत जानकारी गराएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले सो उद्योग निकै पुरानो भए पनि अहिले आसपासमा बस्ती विस्तार भइसकेकाले समस्या झन् बढेको देखिएको बताउनुभयो । 

कत्था उद्योगबाट निस्किएको फोहोर पानी र लेदोको दुर्गन्धका कारण मानव स्वास्थ्यका साथै चराचुरुङ्गी र घरपालुवा जनावरमा असर परेको स्थानीयले बताएका छन् । स्थानीय राधादेवी विष्टका अनुसार उद्योगबाट निस्किने लेदो सिधै नहरमा मिसाइँदा त्यसको दुर्गन्ध सिधै बस्तीमा फैलिएको छ । 

स्थानीयले उद्योगले रातिको समयमा दुर्गन्धित लेदो नहरमा मिसाउने गरेको आरोप लगाएका छन् । उनीहरूका अनुसार उद्योग सञ्चालकले स्थानीयको गुनासो र आग्रहलाई बेवास्ता गर्दैआएका छन् । अनुगमन टोली उद्योग पुगेका बेला उद्योग सञ्चालक उपस्थित नरहेकाले सञ्चालकलाई गाउँपालिकामा उपस्थित भइ छलफल गर्न निर्देशन दिइएको गाउँपालिकाले जनाएको छ ।