• २६ माघ २०८२, सोमबार

लमजुङमा फागुन ३ देखि मतदाता शिक्षा अभियान चलाइने

blog

२०७९ को निर्वाचनमा मतदाता शिक्षा दिँदै । फाइल तस्बिर

नवीनराज कुइँकेल
लमजुङ, माघ २६ गते ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी लमजुङमा मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरिएको छ । निर्वाचनमा मतदाताको सहभागिता बढाउने र बदर मत घटाउने उद्देश्यले जिल्लाका ७५ वटै वडामा कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

आगामी फागुन ३ देखि १७ गतेसम्म सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रमका लागि बालविकास सहजकर्ता, मातृशिशु कार्यकर्ता, महिला स्वास्थ्य स्वयंसेविका वा सामुदायिक सेवा केन्द्रका परिचालकमध्ये अनुभवीलाई स्वयंसेवक नियुक्त गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  

निर्वाचन कार्यालय लमजुङले पहिलो चरणमा प्रत्येक नगर तथा गाउँपालिकाले तोकेका एक–एक जना निर्वाचन सम्पर्क व्यक्तिलाई माघ २७ गते ‘मतदाता शिक्षा अनुगमनकर्ता अभिमुखीकरण’ प्रदान गर्नेछ । अनुगमनकर्ताहरूले मतदाता शिक्षा कार्यक्रमका लागि नियुक्त भएका स्वयंसेवकलाई आ–आफ्नो पालिकामा अभिमुखीकरण गरी कार्यक्रम सञ्चालनको व्यवस्था मिलाउने निर्वाचन कार्यालय लमजुङका प्रमुख यादवराज आचार्यले बताउनुभयो ।

स्वयंसेवकलाई मतदाता शिक्षामै केन्द्रित हुने गरी परिचालन गर्न लागिएको र मत बदर नहुने गरी उनीहरूले घरदैलोमा पुगेर मतदातालाई शिक्षा दिने निर्वाचन अधिकारी आचार्यले बताउनुभयो । यसैबिच, निर्वाचन आयोगले श्रव्यदृश्य र विभिन्न सन्देशमूलक सामग्री तयार गरी आयोग तथा जिल्ला निर्वाचन कार्यालयको फेसबुक, युट्युब, एक्स (ट्विटर) र भाइबरमार्फत नियमित रूपमा प्रकाशन तथा प्रसारणको व्यवस्थासमेत मिलाएको छ ।