• २६ माघ २०८२, सोमबार

किशोरीलाई एचपिभी खोप लगाउन सुरु

blog

लमहीमा किशोरीलाई खोप लगाउँदै स्वास्थ्यकर्मी । तस्बिर : लीलाधर वली

लीलाधर वली 
घोराही, माघ २६ गते ।
दाङमामा पहिलो दिन सत्र सय बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ । पहिलो चरणको अभियानअन्तर्गत घोराही उपमहानगरसहित लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा एक हजार सात सय ७२ जना किशोरीलाई खोप लगाइएको हो ।

विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रासँगै विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरेर जिल्लामा पहिलो चरणमा घोराही उपमहानगरपालिकासँगै लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा खोप लगाउन सुरु गरिएको छ । जसअन्तर्गत पहिलो दिन घोराहीमा नौ सय ३८ जना, लमहीमा तीन सय तीन जना, राप्तीमा तीन सय ५७ जना र गढवामा एक सय ७४ जना किशोरीलाई खोप लगाइएको स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानुज्योति वलीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार पहिलो चरणमा माघ २५ देखि २७ गतेसम्म घोराही उपमहानगरसहित लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा खोप अभियान सञ्चालन गर्ने भए पनि प्राविधिक समस्याका कारण राजपुरमा सोमवारदेखि खोप लगाउन सुरु गरिनेछ ।

गतवर्ष खोप अभियानका क्रममा जिल्लामा छुटेका सात हजार आठ सय २९ जना किशोरीमध्ये पहिलो चरणमा पाँच स्थानीय तहमा रहेका चार हजार पाँच सय २५ जना किशोरीलाई खोप लगाउन सुरु गरिएको छ । जसअनुसार घोराहीमा दुई हजार छ सय १७ जना, लमहीमा छ सय २९ जना, राप्तीमा पाँच सय ४५ जना, गढवामा चार सय ३७ जना र राजपुरमा तीन सय एक जना किशोरीलाई खोप लगाइने छ । 

खोप लगाउनका लागि विभिन्न विद्यालयमा दुई सय ४९ वटा, स्वास्थ्य संस्थामा ४९ वटा र बाह्य स्थानमा पाँच वटा गरी दुई सय ९९ वटा खोप केन्द्र निर्धारण गरिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । दोस्रो चरणमा माघ २८, २९ र फागुन १ गतेसम्म तुलसीपुर उपमहानगरसहित बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका र बङ्गलाचुली गाउँपालिमा खोप लगाइनेछ ।

जसअन्तर्गत तुलसीपुर उपमहानगरामा दुई हजार एक सय ७७ जना, बङ्गलाचुली गाउँपालिकामा दुई सय ९२ जना, दंगीशरण गाउँपालिकामा एक सय ९४ जना, बबई गाउँपालिकामा तीन सय २६ जना र शान्तिनगर गाउँपालिकामा तीन सय १९ जना किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप लगाउने छ ।  गतवर्ष अभियानका क्रममा ३६ हजार नौ सय ७६ जनालाई एचपिभी खोप लगाइएको थियो ।