• २६ माघ २०८२, सोमबार

व्यवस्था फेरियो तर सहिद परिवारले पाएनन् न्याय

blog

२०१८ सालको चितवन क्रान्तिमा ८५ जनालाई एकै चिहान बनाइएको भनिएकोे भरतपुरको गेस्ट हाउसमा अहिले यातायात कार्यालय छ ।

वसन्त पराजुली 

नारायणगढ, माघ २६ गते  । तनहुँ जिल्ला देवघाट गाउँपालिका–५ निवासी ६४ वर्षीय लक्ष्मीकुमारी आलेलाई नजिकँदै गरेको आगामी फागुन २१ गते हुने आमनिर्वाचनले छोएको छैन । झन्डै साढे छ दशकअघि देश र प्रजातन्त्रका लागि ज्यान गुमाएका बुद्धसिंह रानाकी एक्ली छोरी आले अहिले गरिबीसँग जुध्दै जीवनका उत्तरार्ध गुजार्दै गर्दा उहाँलाई चुनावको त्यति मोह र चाह छैन । उहाँ भन्नुहुन्छ, “फेरी चुनाव आयो भनेका छन् । भोट माग्न पनि कुनै नेता घरमा आएका छैनन् ।”

२०१८ माघ २६ गते अर्थात् ६४ वर्षअघि आजकै दिन लक्ष्मीका बुवा बुद्धसिंहले चितवन कब्जा गर्ने विद्रोहका क्रममा ज्यान गुमाउनुभएको थियो । लक्ष्मी आफू जन्मँदै गर्दा बुवालाई सेनाले मारेको कहानी आफूले जान्ने भएपछि मात्रै थाहा पाएको बताउनुभयो । 

“यता म जन्मनका लागि आमालाई बेथा लागेको रहेछ उता बुवालाई सेनाले घेरा हालेको रहेछ । यता म जन्मँदै गर्दा उता बुवाको छातीमा गोली बर्साइएछ,” गोरखापत्रसँग उहाँले भन्नुभयो, “म जन्मिएको दुधे बालक छाडेर आमाले दोस्रो बिहे गर्नुभयो । बुवाआमाको नाममा रहेको चितवन शारदानगरको पाँच बिघा जग्गा पनि आफन्तले खाइदिए । अहिले अलपत्र अवस्थामा दुःखका साथ जीवन कटाइरहेकी छु ।”

ऐलानी जग्गामा खिया लागेको टिनको छानो भएको उहाँको घर छ । उहाँको २०३४ सालमा विवाह र २०५५ वैशाख ३० गते श्रीमान्को मृत्यु भएको थियो । अहिले एकल जीवन बिताइरहेकी लक्ष्मी सरकारले दिने एकल महिला भत्ताले जीवन निर्वाहमा भरथेक सहयोग पुगेको बताउनुहुन्छ । 

“बर्सौंदेखि भोगचलन गरेर बसेको जमिनको पुर्जा अहिलेसम्म पाउन सकेको छैन । जमिनको पुर्जा निकालिदिन्छन् कि भनेको कसैले सुन्दैनन्,” उहाँले भन्नुभयो । निर्वाचनका बेला उम्मेदवारले जहिले पनि आफूले भोगचलन गरिरहेको जमिनको स्वामित्व दिने प्रतिबद्धता जनाए पनि अहिलेसम्म त्यो कार्यान्वयन हुन नसकेको उहाँको गुनासो छ ।  

आफ्नो बुवाको ठुलो योगदान रहेको कांग्रेस लामो समयसम्म सरकारमा रहे पनि आफ्नो समस्या समाधान हुन नसकेको बताउँदै उहाँले सहिदका परिवारले पाउने सेवा सुविधा पनि पाउन नसकिएको गुनासो गर्नुभयो । प्रजातन्त्र पुनस्र्थापनाका लागि देशैभर कांग्रेसले सशस्त्र सङ्घर्ष ग¥यो । जस अन्तर्गत चितवन व्रmन्ति पनि एक हो । इतिहासविद् प्राडा राजेन्द्र रेग्मीका अनुसार माघ २६ गते सहजै चितवन कब्जा गरेका विद्रोहीलार्ई माघ २८ गते नै दमन गरी नियन्त्रणमा लिइसकेको थियो । 

“पहिला विद्रोही जनमुक्ति सेनाले जिल्लाका प्रहरी थाना, मालअड्डा सबै नियन्त्रणमा लिए । हवाईजहाज ग्राउन्ड पनि जोते तर पछि शाही सेनाले ४८ घण्टा नबित्दै विद्रोहीलाई दमन गरेर बर्बर हत्याकाण्ड मच्चायो,” उहाँले भन्नुभयो । यो घटनामा बुद्धसिंहसहित कतिले ज्यान गुमाए यति नै भन्ने कुरामा इतिहासविद् नै विभाजित छन् । बुद्धसिंहलाई सोही दिन नियन्त्रणमा लिएर यातना दिएर हत्या गरिएको धेरैको बुझाइ छ । हेमराज अधिकारी शास्त्रीद्वारा लिखित अन्वेषणात्मक ऐतिहासिक कृति ‘आजको नेपाल’ पुस्तकमा भरतपुरमा ८५ जनाको एकै चिहान भएको उल्लेख छ । २०१८ सालको चितवन काण्डमा २६ जनाको मृत्यु भएको उल्लेख छ । यो घटनामा ६६ जनालाई कैद सजाय दिइएको थियो । 

देश यतिबेला निर्वाचनमय भएको छ तर सहिदका परिवारलाई भने चुनावी चहलपहलले छुन सकेको छैन । प्रजातन्त्र स्थापनाका लागि आफ्नो प्राण आहुति दिएका व्यक्तिलाई राज्यले सहिद घोषणा नगरेको पीडा परिवारसँग छ । व्यवस्था फेरियो, प्रजातन्त्र, बहुदल हुँदै गणतन्त्र आयो तर सहिद परिवारको अवस्था भने नफेरिएको उनीहरूको गुनासो छ । २०१८ सालको विद्रोहमा ज्यान गुमाएका लालध्वज गुरुङका छोरा चन्द्रध्वज गुरुङ भन्नुहुन्छ, “आन्दोलनले देशले व्यवस्था बदल्यो, संविधान बन्यो, गणतन्त्र स्थापना भयो तर सहिदको सही मूल्याङ्कन गर्न सकेन यतिसम्मकि राज्यले अहिलेसम्म चिनेको समेत छैन ।”