• २६ माघ २०८२, सोमबार

मुख्य प्रतिस्पर्धी कांग्रेस र एमाले

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, माघ २६ गते  । प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै मोरङ ६ मा चुनावी सरगर्मी बढेको छ । यहाँ साबिकका प्रतिद्वन्द्वी नेपाली कांग्रेस र नेकपा (एमाले) बिच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । दलका १४ जना र स्वतन्त्र तीन गरी १७ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । यद्यपि निवर्तमान सांसद एवं नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र एमालेका नेता विनोदप्रसाद ढकालबिच मुख्य प्रतिपस्र्धा हुने देखिन्छ । मोरङको विराटनगरमा कांग्रेसको प्रभुत्व रहँदै आएको छ । 

स्वर्गीय बिपी कोइराला, गिरिजाप्रसाद कोइरालाले राजनीति गरेको मोरङमा डाक्टर शेखर कोइरालालाई कांग्रेसको मात्र होइन, कोइराला परिवारको राजनीतिक विरासत पनि जोगाउनुपर्ने दबाब छ । त्यसो त विगतका निर्वाचनलाई हेर्ने हो भने मोरङ ६ कांग्रेसका लागि चुनाव त्यति अप्ठ्यारो क्षेत्र मानिँदैन तर जेनजी विद्रोहपछि पुरानादलप्रति केही वितृष्णा देखिएको छ । कांग्रेस, एमालेले विगतमा पाएको मत नै बाढिएर नयाँ दललाई जाने अनुमान गरिएको छ तर पुराना दलका नेताहरू पार्टी पुनः पूर्वअवस्थामा फर्किएको दाबी गर्छन् । 

नेपाली कांग्रेस मोरङ ६ का क्षेत्रीय सभापति देवराज तामाङ भन्नुहुन्छ, “कांग्रेसमा उम्मेदवार को हुने भन्ने आन्तरिक विवाद थिएन । एकल नाम सिफारिस भएको हो । उम्मेदवारमा विवाद नभएकाले पार्टीभित्र कुनै मतभेद छैन । सबै तहका नेता कार्यकर्ता चुनावी अभियानमा होमिइसक्नुभएको छ । विकास निर्माणभन्दा पनि कानुन निर्माण, सुशासन र स्थानीय तहलाई सक्षम र सशक्त बनाउने, संविधान संशोधन गरेर जेनजीका माग पूरा गर्ने, प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउने एजेन्डाका साथ कांग्रेस मतदातासँग पुगिरहेको क्षेत्रीय सभापति तामाङले बताउनुभयो । यहाँ एमालेसँग प्रमुख प्रतिस्पर्धा हुने तामाङको भनाइ छ । मोरङ ६ का कांग्रेस नेता एवं राष्ट्रिय सभाका पूर्व सांसद रमेशजङ्ग रायमाझी पनि डा. कोइराला नेपाली कांग्रेसको उम्मेदवार मात्र नभई पार्टीको राजनीतिक विरासतसँग जोडिएको व्यक्ति भएकाले जिताउन सबै लागेको बताउनुभयो ।

नेकपा (एमाले) का उम्मेदवार विनोदप्रसाद ढकाल पनि प्रमुख प्रतिस्पर्धा एमाले र कांग्रेसबिच नै हुने बताउनुहुन्छ । ढकालले भन्नुभयो, “हामी जित नजिक छौँ । अहिले कार्यकर्ता साथीहरूसँग भेटघाट चलिरहेको छ । पार्टीको चुस्त र सुदृढ सङ्गठन र विगतमा एमालेले गरेका काम र आगामी दिनमा गरिने विकास निर्माण र कानुन निर्माणलाई उहाँले एजेन्डा बनाउनुभएको छ । ढकालले फागुन ४ गते आफ्नो घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिनुभयो । 

नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३१ वर्षीय रुविना आचार्य उम्मेदवार हुनुहुन्छ । आचार्यको चुनावी मोर्चा समालिरहनुभएका प्रदीप उप्रेतीले भन्नुभयो, “धेरै मतदाताबाट दल नफेरिकन पनि रास्वपामा मतदान गर्ने प्रतिबद्धता पाएका छौँ । हाम्रो जितको आधार नै यही हो ।” उप्रेतीले कांग्रेस उम्मेदवार डाक्टर शेखर कोइराला रास्वपाको प्रमुख प्रतिस्पर्धी भएको दाबी गर्नुभयो । आममतदाता पुराना दलसँग रुष्ट छन् । भ्रष्टाचार नरोकिएको, सुशासन नभएको र विकास निर्माणका काम पनि नभएको रास्वपाको ठहर छ । 

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार ओपेन्द्रकुमार रायले आफू मजदुरहरूको प्रतिनिधित्व गर्दै चुनावी प्रतिस्पर्धा गरिरहेको र यस निर्वाचन क्षेत्रमा औद्योगिक मजदुर धेरै भएकाले निर्वाचन जित्ने बताउनुभयो । रायले भन्नुभयो, “मधेशी, आदिवासी, मुस्लिम र पछाडि परेका नागरिकको प्रतिनिधित्व मैले गरिरहेको छु । नेपाली कम्युनिस्ट पार्टी नयाँ भएर आएको छ । पार्टीप्रतिको आकर्षण बढेको उहाँको दाबी छ ।” उज्यालो नेपाल पार्टीको उम्मेदवार २५ वर्षीय वसन्त बुढाथोकीले स्थानीयस्तरमा रोजगार वृद्धि गर्ने एजेन्डासहित मत मागिरहेको र उज्यालो नेपालको जित सुनिश्चित रहेको दाबी गर्नुभयो ।

मोरङ ६ मा विराटनगर महानगरपालिकाका सात वटा वडा, बुढीगङ्गा गाउँपालिकाका पूरै सात वटा वडा र सुन्दरहरैँचा नगरपालिकाका छ वटा वडा गरी २० वटा वडा पर्छन् । २०७९ को स्थानीय निर्वाचनमा महानगरका चार वटा वडामा बुढीगङ्गा गाउँपालिकाका पाँच वटा वडामा र सुन्दरहरैँचाका तीन वटा वडामा नेपाली कांग्रेसले चुनाव जितेको थियो । यस्तै एमालेले महानगरका दुई, बुढीगङ्गाको एक र सुन्दरहरैँचाको दुई वडामा चुनाव जितेको थियो । तत्कालीन माओवादी केन्द्रले बुढीगङ्गाको एउटा र जनता समाजवादी पार्टीले महानगरको एउटा वडामा चुनाव जितेको थियो ।