गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २६ गते । ऐतिहासिक फर्पिङ पानीपोखरीमा कविता वाचन कार्यक्रमको आयोजना गरिएको छ । नेपालको ऐतिहासिक पहिलो जलविद्युत्गृह फर्पिङको पानीपोखरीमा साहित्यिक संस्था शब्दपथ र सुसेली साहित्यिक प्रतिष्ठानद्वारा आयोजित संयुक्त बृहत् कविता वाचन कार्यक्रममा चालिस कविले आआफ्ना रचना वाचन गर्नुभएको हो ।
सुसेली साहित्यिक प्रतिष्ठानका सल्लाहकार डा. शेखरकुमार श्रेष्ठले विसं १९६८ सालमा राणा प्रधानमन्त्री चन्द्रशमशेरले निर्माण गरेको चन्द्रज्योति जलविद्युत्गृहपरिसरमा आयोजित यस कार्यक्रममा काठमाडौँ, भक्तपुर र ललितपुरबाट समेत वरिष्ठ कवि भेला भएर कविता वाचन गर्नुभएको जानकारी दिनुभयो ।
कविहरू कृष्ण कँडेल, विश्व सिग्देल, चन्द्रबहादुर लामा, कृष्णकुमार श्रेष्ठ, गोविन्दबहादुर खड्का, चन्द्रलाल तामाङ, विनोद खत्रीलगायतले रचना वाचन गर्नुभएको थियो । शब्दपथका प्रधान सम्पादक किशोर पहाडीले ऐतिहासिक स्थानमा जम्मा भएर कविलाई रचना वाचन गर्ने अवसर जुटाउने सपना पूरा भएको बताउनुभयो ।