गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २६ गते । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ गतेको निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने बताउनुभएको छ । नेकपा प्रचार विभागले आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले अहिलेको निर्वाचन नियमित नभएर असाधारण भएको उल्लेख गर्दै यो सबै पक्ष मिलेर यसलाई निष्पक्ष बनाउनुपर्ने बताउनुभयो ।
संयोजक प्रचण्डले कतिपय दलले निर्वाचन निष्पक्ष र धाँधलीरहित हुँदैन कि ! म्याच फिक्सिङ हुन्छ कि ! भनेर प्रश्न गरेकाले सबै शङ्का निरूपण हुनुपर्ने बताउनुभयो । उहाँले जनताको अभिमतबमोजिम परिणाम आउने निर्वाचनको वातावरण हुने विश्वास व्यक्त गर्नुभयो । “निर्वाचनबारे सबै राजनीतिक वृत्तमा एकमत देखिँदैन । एकथरी अझै निर्वाचन हुन हुँदैन, निर्वाचन सार्नु पर्र्छ र संसद् पुनस्र्थापना गर्नु पर्छ भन्ने विचार छ,” उहाँले भन्नुभयो, “अर्काथरी निर्वाचनको विकल्प छैन । निर्वाचनै सफलतापूर्वक सम्पन्न गर्नु पर्छ भन्ने । यो मत हामीले सुरुदेखि नै राख्दै आएका हौँ ।” संयोजक प्रचण्डले यस पटक निर्वाचनमा कसैसँग तालमेल वा समीकरण केही नहुने प्रस्ट पार्नुभयो । “यो निर्वाचनमा आफ्नै पार्टी र उम्मेदवारलाई भोट हाल्न पाउने भएपछि जनता खुसी छन् । उहाँले आफ्नो पार्टीसँग सिंहदरबार, सर्वोच्च अदालत जस्ता सरकारी सम्पत्ति तथा विभिन्न पार्टीका कार्यालय जलाउने प्रवृत्ति र अर्कोतर्फ भ्रष्टाचारी प्रवृत्तिसँग लड्नुपर्ने जिम्मेवारी रहेको बताउनुभयो ।
नेकपा नेता अग्निप्रसाद सापकोटाले आगामी निर्वाचनमा प्रविधि प्रयोग गरेर गलत र भ्रामक समाचार आउन सक्ने भएकाले सबै उम्मेदवार सजग हुनुपर्ने सुझाव दिनुभयो ।