नेपालगन्ज समाचारदाता
नेपालगन्ज, माघ २६ गते । नेपाल–भारत जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि छ वर्षपछि आवतजावत सुरु गरिएको छ । छ वर्षअघि कोरोनाकालदेखि जमुनाह नाकाबाट तेस्रो मुलुकका पर्यटक जमुनाह हुँदै नेपाल आउनजान बन्द गरिएको थियो । जमुनाहस्थित अध्यागमन कार्यालयका अनुसार तेस्रो मुलुकका नागरिकका लागि आगमन र प्रस्थान पूर्ण रूपमा सञ्चालन गरिएकाले पर्यटकलाई सहज भएको छ ।
अध्यागमन कार्यालय बाँकेकी प्रमुख दुर्गा वलीले जमुनाह नाकाबाट आवतजावत गर्ने कुनै पनि पर्यटकलाई अबदेखि असहज नहुने बताउनुभयो । उहाँले यसबाट पर्यटनका क्षेत्रमा धेरै राम्रो हुने बताउनुभयो । उहाँले यो नाकाबाट आवतजावत हुने भएपछि यहाँका होटेल चलायमान हुने र त्यसबाट आर्थिक कारोबार पनि बढ्न सक्ने औँल्याउनुभयो ।
पर्यटकको आवागमन सुरु भएपछि तेस्रो मुलुकबाट जमुनाह नाका हुँदै आउने पर्यटक बाँके र बर्दियाका पर्यटकीय स्थलसम्म पुग्न सक्ने र त्यसबाट राजस्व सङ्कलन बढ्ने विश्वास गरिएको छ ।
नेपालगन्जका पर्यटन व्यवसायी केशव न्यौपानेले तेस्रो देशका नागरिकको आवागमन पुनः सुचारु भएपछि दुवै देशलाई लाभ हुने उल्लेख गर्दै भारत हुँदै जाने तेस्रो मुलुकका पर्यटकले सिधै नेपालका पर्यटकीय क्षेत्रको अवलोकन गर्न पाउने बताउनुभयो ।
नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीले तेस्रो मुलुकका नागरिकका लागि नाका सञ्चालनमा आएपछि सबैभन्दा बढी खुसी यहाँका व्यवसायी हुने उल्लेख गर्दै पर्यटकले भारत हुँदै आएर बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको भरपुर आनन्द लिन सक्ने बताउनुभयो ।
उहाँले बाँकेमा बाँके राष्ट्रिय निकुञ्ज र बर्दियामा बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका बाघलगायत वन्यजन्तुको अवलोकन गर्न आउनेको सङ्ख्या पनि बढ्ने विश्वास व्यक्त गर्नुभयो । बन्द रहेको आवागमन खुलाउन लामो समयदेखि स्थानीय पर्यटन व्यवसायीले माग गर्दै आएका थिए ।